18.1 C
Kathmandu
Monday, January 26, 2026

पर्वतको फलेवासमा गाउँघर क्लिनिक भवनको शिलान्यास

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नम्बर ७ मा एकैदिन ३ वटा गाउँघर क्लिनिकको भवन शिलान्यास गरिएको छ ।

फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले २ वटा र उपमेयर शोभा कुमारी क्षेत्रीले १ वटा भवनको बिहीबार शिलान्यास गर्नु भएको हो ।गुड नेवर्स इन्टरनेशनल (जीएनआई)को आर्थिक तथा नवचेतना सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा भवन निर्माण हुन लागेका हुन् ।

४३ लाखको कुल लागतमा ३ महिनाभित्र २ कोठे ३ वटा भवन निर्माण सम्पन्न हुने गुड नेवर्स इन्टरनेशनलका कार्यक्रम संयोजक रञ्जित चौधरीले जानकारी दिनुभयो ।

वडा नम्बर ७ को थाङ्ने, सिमलचौर र चिर्दिखोलामा भवन निर्माणका लागि एउटा मुल तथा ३ वटा स्थानीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिद्वारानै भवन निर्माण गरिने चौधरीको भनाई छ ।

गाउँघर क्लिनिकको भवन निर्माण भएर सेवा सूचारु भएपछि स–सना बालबालिका बोकेर टाढाको स्वास्थ्यचौकी पुग्नु पर्ने यहाँका महिलाको बाध्यता हट्ने उपमेयर शोभा क्षत्रीले बताउनु भयो । वडा नम्बर ७ को तीनधारेमा स्वास्थ्य चौकी छ । छरिएर रहेको वडाका महिला तथा बालबालिकाले गाउँघर क्लिनिकबाट प्रतक्ष सेवा प्राप्त गर्ने उपमेयर क्षत्रीको भनाई छ ।

तीन महिनामा उपभोक्ता समितिले भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने छन् । त्यसपछिको व्यवस्थापन नगरपालिकाले गर्ने छ । गाउँघर क्लिनिकबाट मासिक रुपमा बालबालिकालाई प्रदान गरिने खोप, गर्भवतीको स्वास्थ्य जाँच गरिने छ ।

ताजा

Related Articles