२९ भदौ २०८२,पर्वत
पर्वत कारागारबाट भागेका १९ जना कैदी बन्दीहरूमध्ये ८ जना र उनीहरूलाई भाग्न सहयोग गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेनजी’ समूहले यहीँ भदौ २३ र २४ गते गरेको आन्दोलन तथा प्रदर्शनको कमजोर अवस्थाको फाइदा उठाउँदै भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
भदौ २४ गते साँझको समयमा कारागारबाट भागेका उनीहरूलाई फरक–फरक स्थानहरूबाट नियन्त्रणमा लिएर पुनः कारागार पठाइएको र भगाउन सहयोग गर्नेलाई म्याद थप गरि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रबिन बिष्टले जानकारी दिनुभयो । पक्राउ परेकाहरूमा जबरजस्ती करणीका मुद्दाका तीन जना, सहकारी ठगी मुद्दाका दुई जना र चोरी मुद्दाका तीन जना रहेका छन् । देशमा आइपरेको सुरक्षा चुनौतीको फाइदा उठाउँदै कारागारबाट भागेकाहरूको खोजी तीव्र रूपमा भइरहेको तथा कारागारबाट उनीहरूलाई भगाउन बाहिरबाट सहयोग गरेका व्यक्तिहरूको समेत खोजी भइरहेको डि.एस.पी विष्टले जानकारी दिनुभयो ।
हालसम्म पक्राउ परेका ८ जनालाई पुनः जिल्ला कारागार पर्वत चलान गरिएको र बाँकी रहेका ११ जनाको पनि प्रहरीले विभिन्न तरिकाबाट खोजी गरिरहेको बिष्टको भनाइ छ । पर्वत प्रहरीले बाँकी रहेका ११ जना कैदी बन्दीहरूलाई समयमै सम्पर्कमा आएर आफ्नो इमानदार व्यवहार देखाउन अनुरोध गरिरहेको छ । प्रदर्शन भएको दिनको अवस्थाको फाइदा उठाउँदै कसैको सहयोगमा वा आफैले पनि कारागारबाट भागेकोमा अब स्वैच्छिक रूपमा जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमा सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।
देशमा विकसित भएको असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारबाट फरार रहेकालाई स्वैच्छिक रूपमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । तर प्रहरीको अनुरोधलाई अस्वीकार गरी आफू भागेको कुरा नै सत्य हो भन्ठानेर वा लुक्न सकिन्छ भन्ठानेर लुकिरहेको भएमा त्यो गलत हुने प्रहरीले जनाएको छ । स्वेच्छिक रूपमा प्रहरीको सम्पर्कमा नआएमा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रण लिइने समेत पर्वत प्रहरीले चेतावनी दिएको छ ।
यसैबीच पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिहरुलाई शनिबार नियन्त्रणमा लिएको डिएसपी बिष्टले बताउनुभएको छ । प्रहरीले यसरी फरार रहेका ब्यक्तिहरू कहीकतै देखेको अबस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत सर्बसाधरण समक्ष अनुरोध गरेको छ ।

