26.1 C
Kathmandu
Saturday, April 18, 2026

पर्वतमा कारागारबाट छुटेकै दिन श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

र्वत- पर्वत जिल्लाको मोदी गाउँपालिका–६ दराकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दराकका ५१ बर्षिय जितबहादुर बिकको कुटाइबाट उनकी श्रीमती ५२ बर्षिया सिता बिकको मृत्यु भएको हो । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका बिक सोमबार कारागारबाट छुटेर घर गएकै दिन श्रीमतीलाई कुटपिट गरेको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

सोमबार राती करिब एक बजेको समयमा बिकले श्रीमती सितालाई कुटपिट गरी आफ्नै घरको कोठामा सुताएको पाइएको थियो । डिएसपी यादवका अनुसार श्रीमतीलाई गम्भीर रूपमा कुटपिट गरी उनले घरकै कोठामा राखेका थिए ।
आफ्ना ससुरा जितबहादुरले सासूमाथि आक्रमण गर्दा टाउको र अनुहारमा चोट लागेर रगतले लतपतिएको अवस्थामा सिरक ओढाइ राखेको भन्ने सूचना बुहारी शोभा बि.क.ले प्रहरीमा दिएकी थिइन् । लगत्तै प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी हवलदार सोम बहादुर थापाको कमान्डमा गएको प्रहरी टोलीले घटनाको बारेमा बुझेको थियो । जहाँ महिला आफ्नै घरको सुत्ने कोठामा टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा भेटिएकी थिइन् ।
लगत्तै प्रहरीले सिताको उपचारको लागि प्रदेश अस्पताल पर्वतमा लगेकोमा उपचारको क्रममा मङ्गलवार बिहान साढे पाँच बजे उनको निधन भएको हो ।
घटना घटाएका जित बहादुरलाई छिमेकीहरूले घरमा नै कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जित बहादुर सोमबार मात्रै जिल्ला कारागार पर्वतबाट छुटेका थिए । उनी जबरजस्ती करणी मुद्दामा कारागारमा राखिएका थिए । घरमा श्रीमती सहित एक जना बुहारी र दुई महिनाकी नातिनी गरी चार जना बसेका थिए । तीन जना छोराहरू रोजगारीका लागि विदेशमा रहेका प्रहरीले बताएको छ ।
घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक सुदीप भण्डारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटीएको छ ।

ताजा

Related Articles