13.1 C
Kathmandu
Monday, January 26, 2026

बिद्यालय स्तरीय कराँतेमा पर्वत गुरुकुल एकेडेमी च्याम्पियन

पर्वत – जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ ।

कुश्मामा रहेको सहिद स्मारक आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार र शनिवार आयोजना भएको प्रतियोगितामा गुरुकुलले सात स्वर्ण तीन रजत र दुई कांस्य पदक जित्दै विजेता बनेको छ । उपविजेता बनेको आयोजक सहीदले चार स्वर्ण सात रजत र एक कांस्य प्राप्त गरेको छ भने तेस्रो स्थानमा आएको कुश्माकै नमुना आवासीय माध्यमिक विद्यालयले तीन स्वर्ण दुई रजत र एक कांस्य हात पारेको छ ।

जिल्लाका जुन विद्यालयहरूमा कराँते डोजो स्थापना गरिएको छ त्यहाँबाट प्रतिस्पर्धीहरू सहभागी गराउँदा कुल १५ वटा विद्यालयका करिब एक सय ५० जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

छात्र र छात्रा दुवै विधामा २०, २५, ३०, ३५, ४०, ४५ किलो तौल समूह तथा एकल काँतामा प्रतिस्पर्धा गराइएको थियो । यी विधाहरूमा प्रथम, द्वितीय र तृतीय बनेका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बनेका विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहिद स्मारक आवासीय माध्यमिक विद्यालयका सङ्गीत गिरी छात्रतर्फ र पर्वत गुरुकुल एकेडेमीकी चाहना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, आत्मरक्षा तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र सुवेदीले बताए । कराँते महासङ्घ पर्वतको सहयोगमा आयोजना भएको प्रतियोगिताले जिल्लामा कराँते खेलको विकासका लागि थप बल पुगेको महासङ्घ पर्वतका अध्यक्ष राम श्रेष्ठले बताए । महासङ्घले सकेसम्म हरेक विद्यालयमा कराँते डोजो स्थापना गरेर बालबालिकाहरूलाई नियमित अध्ययन सँगसँगै खेलमार्फत अनुशासन, आत्मरक्षा र परिश्रम गर्नमा उत्प्रेरित गरिरहेको उनको भनाई छ ।

कराँते लगायतका खेलहरूलाई अझै पनि अरूमाथि आक्रमण गर्नका लागि खेलिने खेलको रूपमा बुझ्ने मानसिकता रहेका कारण पनि गाउँ गाउँका विद्यालयमा यी खेलहरूको राम्रो विकास नभएको अध्यक्ष श्रेष्ठको गुनासो छ । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने भएकाले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूमा पनि कराँते डोजो स्थापना गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

ताजा

Related Articles