२७ मंसिर २०८२, पर्वत- समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सव आउन अब ११ दिन मात्र बाँकी छन् ।
अहिले महोत्सवका लागि प्रचार प्रसार, मुख्य प्रायोजक, प्रायोजक, खेलकुद, कलाकार, दोहोरी, नृत्य, झाकी तथा ऱ्यालीको व्यवस्थापन र तयारीहरु भैरहेका छन् । महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्लाका महिला उद्यमीहरु समेत सक्रिय बनेका छन् । पर्वत उद्योग बाणिज्य संघ महिला उद्यमी समितिको बिहीवार बसेको बैठकले महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिम्मेवारी अनुसारको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
महिला उद्यमी सभापति अम्बिका शर्माको अध्यक्षतामा बसेको बैठकमा महोत्सवका मुल संयोजक ठाकुर बि पौडेलले महोत्सवको हालसम्मको तयारी र बाँकी रहेका कामहरुको बारेमा ब्रिफिङ गर्नुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरुले पनि महोत्सवलाई सफल बनाउनका लागि महिला उद्यमीहरुको महत्वपुर्ण भूमिका रहने भएकाले सवै सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो । महोत्सवको दिन नजिकिदै गर्दा अहिले आवश्यक तयारीहरु भैरहेका छन् । लोक दोहोरी प्रतियोगिता, भजन तथा रत्यौलीका प्रस्तुतीहरुसँगै रमाईलो मेला जस्ता आकर्षणहरु रहेका छन् । यसपटक पर्वत जिल्लामा अहिलेसम्म नआएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल कलाकारहरु र कन्सर्टहरुलाई महोत्सवले स्थान दिने भएको छ । दर्शकहरुका लागि नयाँ नयाँ स्वाद र मनोरन्जन दिने हिसावले तयारीहरु भैरहेको प्रचार प्रसार सयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेल ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्द्धनमा जोड दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

