22.1 C
Kathmandu
Wednesday, April 15, 2026

पर्यटन प्रवर्द्धनका लागि पर्वतका पत्रकारहरूको पदयात्रा

३० चैत २०८२,पर्वत-पर्यटन प्रबर्द्धनका लागि पर्वतका पत्रकारहरुले जिल्लामा रहेका विभिन्न ऐतिहासिक,धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अध्ययन अबलोकन सहित पदयात्रा गरेका छन् । नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा चैत २८ र २९ गते उक्त पदयात्रा गरिएको हो ।

‎पदयात्रा जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगम स्थल समुन्द्री सतहदेखी ३३ सय मिटरको उचाईमा रहेको जलजला क्षेत्र, कालान्जर, कोखेडाँडा, हम्पाल लेक, भमरकोट,लौसीबोट हुँदै बिरेठाटी, नयाँपुल, डिमुवा पार गर्दै चित्रेगाउँमा पुगेर टुंगिएको थियो । पर्वत पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट र उपयुक्त ठाउँ रहेको छ ।

ओझेलमा परेका प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका पत्रकारहरुको सक्रिय सहभागीतामा पदयात्रा गरिएको नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले बताउनुभयो । कालान्जर क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढाउन विभिन्न पर्यटन प्रबर्द्धनका कार्यहरू गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । यात्राका क्रममा सहभागीहरूले कालान्जार क्षेत्र, लालिगुँरासले ढाकिएका वन, हिमाली दृश्य, हरियाली वातावरण तथा जैविक विविधताको अवलोकन गरेका थिए।

सहभागीहरूले यस क्षेत्रलाई ट्रेकिङका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने, पदमार्ग सुधार, बासस्थान व्यवस्थापन, सूचना केन्द्र स्थापना र प्रभावकारी प्रचार आवश्यक रहेको निष्कर्ष निकालेका छन्। महासंघले यस्ता गतिविधिले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्बन्धित निकायलाई पूर्वाधार विकास र संरक्षणमा ध्यान दिन आग्रह गरेको छ।

ताजा

Related Articles