३१ असोज २०८३,पर्वत -पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीमा जन्मिएर हाल पोखरा महानगरपालिका–३३, भरतपोखरीमा बसोबास गर्दै आउनुभएका कुशल सुनार जिल्ला बाल क्लब सञ्जाल कास्कीको अध्यक्षमा निर्वाचित हुनुभएको छ।बालअधिकारको संरक्षण, बालबालिकाका समस्या तथा सवालको उठान र उनीहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउन सक्रिय सुनारले हालै सम्पन्न भेलाबाट जिल्ला बाल क्लब सञ्जाल कास्कीको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
यसअघि वडा बालमञ्चमा सक्रिय रहँदै आउनुभएका सुनारले बालबालिकाका हकहित, अधिकार र उनीहरूले भोग्दै आएका समस्याका विषयमा आवाज उठाउँदै आउनुभएको थियो। बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने, उनीहरूका समस्या सम्बन्धित निकायसम्म पुर्याउने तथा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित अबका दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने सुनारले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्ला बाल क्लब सञ्जालको अध्यक्षमा निर्वाचित भएसँगै सुनारमाथि कास्की जिल्लाका बालबालिकाका सवाललाई थप प्रभावकारी रूपमा उठान गर्ने, बाल क्लबहरूबीच समन्वय बढाउने र बालअधिकार सुनिश्चितताका लागि पैरवी गर्ने जिम्मेवारी थपिएको छ।
पर्वतको फलामखानीमा जन्मिएर पोखरामा बालअधिकारको क्षेत्रमा सक्रिय सुनारको नेतृत्वले बालबालिकाका आवाजलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

