21.1 C
Kathmandu
Friday, April 17, 2026

बेसहारा बालबालिकाको सहारा बन्दै,चुवा वडा कार्यालय!, अनाश्रीत निर्धन उत्थान कार्यक्रम संचालन !

पर्वत-पर्वतको एक वडा कार्यालयले वडाभित्रका अनाश्रीत,बेसहारा तथा अभिभावक बिहिन बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने भएको छ । कुश्मा नगरपालिका वडा नं. ८ चुवाले अनाश्रीत निर्धन उत्थानको लागि जनप्रतिनिधि कार्यक्रम संचालन गरि उक्त कार्यको थालनी गर्ने भएको हो । विभिन्न कारणले आमाबुबा गुमाएका तथा बेसहारा बनेका बालबालिकाहरुको सम्पुर्ण जिम्मेवारी वडा कार्यालयले लिन लागेको वडा अध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । आमाबुबा नभएका,आमाबुबा मध्ये एक नभएका र संरक्षणबिहिन १८ बर्ष मुनिका बालबालिकाको संरक्षण तथा पालनपोषणको जिम्मेवारी वडा कार्यालयले लिने उहाँले बताउनुभयो ।क्षेत्रीले भन्नुभयो “अनाश्रीत निर्धन उत्थानको लागि जनप्रतिनिधि कार्यक्रम” संचालन गरि बालबालिकाको संरक्षण अभियान अगाडि बढाएका छौँ ।” वडा कार्यालयको हालै सम्पन्न वडा कार्यालयको बैठकले वडाभित्र रहेका अभिभावक बिहिन बालबालिकाको खोजी गरि उनिहरुको संरक्षणमा जुट्ने अभियान संचालन गरेको क्षेत्रीको भनाइ छ । यहीँ पौष मसान्तसम्म वडामा रहेका अनाश्रीत बालबालिकाको विवरण उपलब्ध गराउन वडाका सरोकारवालाहरुलाई सूचना मार्फत आग्रह गरिएको उहाँले बताउनुभएको छ । वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो “वडामा भएका अनाश्रीत बालबालिकाको खोजी गर्दै छौं, बालबालिकाको कोहि संरक्षण भएमा र वडाले तोकेको सेवा सुबिधा लिन नचाहेमा ठिकै छ, हैन भने हामी अभिभावक बिहिनको संरक्षणमा गछौँ ।” वडामा हालसम्म १९ जना अनाश्रीत बालबालिका रहेका छन् । बाबुको पहिचान नभएका ६ जना, आमाबुबा दुबै नभएका २ जना, आमाबुबा मध्ये एक नभएका ११ जना गरि १९ जना बालबालिका रहेको सूचना प्राप्त भएको बताउनुभयो । बालबालिकालाई कक्षा शिशुदेखी १२ सम्म पठनपाठनको व्यवस्था स्वास्थ्य बिमा मार्फत औषधोपचार,१० बर्षभन्दा मुनिका बालबालिकालाई सुरक्षित पोषणको पनि व्यवस्था गरिएको र अन्य आवश्यक खर्च समेत वडाले व्यहोर्ने वडा अध्यक्ष क्षेत्रीको भनाइ छ ।

ताजा

Related Articles