बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२मा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार आफ्नो बजेट भाषणमा उपप्रमुख हरिहर शर्माले कृषि एम्बुलेन्स सञ्चालनको लागि २५ लाख रुपैयाँ बिनियोजन गरिएको जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकाको आर्थिक विकासको मेरुदण्ड कृषि तथा पशुपालन भएकोले कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाई निर्यातमा जोड दिने गरि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । कृषि एम्बुलेन्स सञ्चालनको लागि संघीय सरकारसँग साझेदारी गरिनेछ ।
कृषि उत्पादन, जैमिनी पहिचान सहितको ब्राण्डिङ, प्याकेजिङ र लेबलिङका लागि १ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ । दुधमा दिँदै आएको अनुदान थप गरि प्रति लिटर ३ रुपैयाँ बनाइएको छ ।
लघु तथा घरेलु उद्योगहरुले स्थानीय श्रोतको प्रयोग गरि उत्पादन गरेका सामाग्रीको संकलन, स्तरीकरण र ब्राण्डिङका लागि लघु उद्यम मेड्पा कार्यक्रम सहित १५ लाख ६० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।
त्यस्तै पूरानो गाउँमा स्थापना हुन लागेको बाँदर बँगैचा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन अनुसारका पूर्वाधार थप गर्न १० लाख रुपैयाँ बिनियोजन गरिएको छ । बाँदर बगैंचा निर्माणले बाँदर आतंक नियन्त्रण हुने र कृषकले लगाएको अन्नबाली जोगाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
निजी क्षेत्रलाई लगानीमा आकर्षित गराउन प्रथम जैमिनी लगानी सम्मेलन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । त्यसको लागि ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । ‘अवसर र सम्भावनाको खानी, गरौँ जैमिनीमा लगानी’ भन्ने मूल नाराका साथ सम्मेलन गरिनेछ ।
ज्ञानमा आधारित सिप र सिर्जना विकास गर्ने उद्धेश्यले भोकेशनल ट्रेनिङ सहित नव प्रवर्तनमा आधारित प्रवर्तनशाला तथा व्यवसायीक सिप विकास केन्द्र निर्माणको लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसले युवाहरुलाई नवप्रवर्तनमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै परम्परागत असल अभ्यास र ज्ञानको हस्तान्तरण गर्न जैमिनी संंस्कार शिक्षा सहित विद्यालय स्तरमा स्काउट ट्रप गठन र परिचालनको लागि ४ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ । पालिकाले आगामी आर्थिक बर्षको लागि कुल ७१ करोड ८७ लाख २१ हजार ९९९ बजेट बिनियोजन गरेको छ ।
कुल बजेट मध्ये आर्थिक विकासको लागि १ करोड ९६ लाख ३९ हजार २७०, पूर्वाधार विकासको लागि ६ करोड ५१ लाख ३ हजार ३३६ रुपैयाँ बिनियोजन गरिएको छ ।
सामाजिक विकास तर्फ ३ करोड ७४ लाख ७७ हजार ९२८, सुशासन तथा संस्थागत विकासको लागि ७७ लाख ८६ हजार ४३२ बिनियोजन गरिएको छ ।
समग्र नगरको विकास र समृद्धिलाई ध्यानमा राखेर जनमुखी नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभएको छ । नगरपालिकाका ११ वटै वडामा शिक्षा, स्वास्थ्य, सडक, सिचाइ, खानेपानी,कृषि, पर्यटन,रोजगार लगायतका क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । नगरमा कृषि उपज उत्पादनमा जोड दिने र उत्पादित बस्तुहरुको बजारीकरणका लागि कृषि एम्बुलेन्स संचालनमा ल्याउन लागिएको पुनको भनाइ छ । कृषकले लगाएको कृषि तथा फलफुल खेतीमा बाँदरले नोक्सानी पुर्याएको हुँदा बाँदर नियन्त्रण र पर्यटन प्रबर्द्धनका दिगो कार्यक्रमका रुपमा बाँदर बगैंचा निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुशासन र पारदर्शितालाई जोड दिदै नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिने नगर प्रमुख पुनले बताउनुभएको छ ।

