पोखरा-कृषि गतिविधि प्रसारमा जोड दिने उद्देश्यले गण्डकी प्रदेशका पत्रकारहरुलाई कृषि पत्रकारिता तालिम प्रदान गरिएको छ ।
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश पोखराको आयोजनामा पत्रकारहरुलाई कृषि पत्रकारिता सम्बन्धी तालिम प्रदान गरिएको हो । यहीँ असोज १६ गतेदेखि १८ गतेसम्म ३ दिनसम्म पोखरामा संचालित तालिममा प्रदेशका ८ जिल्लाका २२ जना पत्रकारहरूको सहभागीता रहेको थियोे ।
गण्डकी प्रदेश कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा कुमारी जिसी श्रेष्ठले देशको आर्थिक विकासका लागि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताइन् । मुलुकको समृद्धिको आधार नै कृषि भएको बताउदै आधुनिकीकरण र प्रविधिकरणमा जोड दिएर उत्पादनमा वृद्धि गर्नुपर्ने उनले बताइन् ।
कृषि विकास निर्देशनालय पोखराका प्रमुख वासुदेव रेग्मीले प्रदेशका ११ वटै जिल्लामा भूगोल अनुसार कृषि उत्पादनमा जोड दिएको बताए । विगतको तुलनामा कृषिमा बजेट घटेको बताउदै सरकारले कृषिलाई प्राथमिकता दिएर बजेट बढाउनुपर्ने बताए ।
कृषि गतिविधि प्रसारमा मिडियाको महत्त्वपूर्ण भुमिका रहने बताउदै कृषिका समाचारलाई प्राथमिकता दिन उनले आग्रह गरे ।
। तालिममा खोज पाठशाला प्रा.लिका डा. रामचन्द्र बराल र डा. अनिल सुवेदी, कृषि विकास निर्देशनालय पोखराका प्रमुख वासुदेव रेग्मी,कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका निमित्त प्रमुख निलकण्ठ पोखरेल लगायतले सहजीकरण गरेका थिए । तालिममा पत्रकारिताको बाह्रखरी र कृषि पत्रकारिताका मान्यता, आधारभूत सीप र कृषि समाचार तयारी कला, कृषि पत्रकारले समेट्नुपर्ने ४९ विषय क्षेत्रहरु, कृषि र अन्य समाचारको भिन्नता, जर्नल लेखन, मिडिया लेखन र सामान्य लेखनको भिन्नता, श्रव्य र दृश्य समाचार तयारी र सम्प्रेषण कला, कृषि मिडियाले समेट्नुपर्ने मुद्दाहरु, कृषि विकासमा आम संचार र कृषि पत्रकारिताको भुमिका लगायतका विषयमा सिकाइएको थियोे । कार्यक्रम समापनको अवसरमा प्रशिक्षक डा.अनिल सुवेदी, पत्रकार नारायण कार्की सहभागी प्रशिक्षार्थीको तर्फबाट फुर्वा लामा, किरण आचार्य र ज्ञानु पंगेनीले तालिमको अनुभवका बारेमा बोलेका थिए ।
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका निमित्त प्रमुख निलकण्ठ पोखरेलको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन वरिष्ठ कृषि अर्थ विज्ञ भानुभक्त भट्टराईले गरेका थिए ।
कृषि गतिविधि प्रसारमा जोड दिन कृषि पत्रकारिता तालिम प्रदान

