19.1 C
Kathmandu
Friday, April 17, 2026

महासंघको ७० औं स्थापना दिवसमा पत्रकारलाई डिजिटल साक्षरता तालिम

नयन न्युज,पर्वत– नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा पर्वतमा पत्रकार डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास तालिम सम्पन्न  भएको छ ।‎नेपाल पत्रकार महासंघ पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा उक्त कार्यक्रम सनिबार कुश्मामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पत्रकारिता आधुनिक प्रविधिको प्रयोग बिना अघि बढ्न नसक्ने अवस्था आएको बताइन । अहिलेको युगमा पत्रकारहरूले डिजिटल साक्षरतामा दक्षता हासिल गर्नु समयको आवश्यकता भएको भन्दै स्थानीय सरकार र सञ्चारकर्मीबीच सहकार्य बढ्दै जानु सकारात्मक सङ्केत भएको उल्लेख गरिन।

पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको बताए । पछिल्लो समय प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बनेको पत्रकारितालाई डिजिटल माध्यमले झनै चुनौती थपेको उनको भनाई छ । प्रविधिको तीव्र विकास भएसँगै आर्टिफिसियल इन्टीलीजेन्सको बढ्दो प्रयोगले लेख्नै नपर्ने अवस्था आएकोले अबको पत्रकारिता केही फरक र प्राविधिक हुनुपर्ने प्रजिअ घिमिरेको धारणा थियो  ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले अनलाइन मिडिया, सामाजिक सञ्जाल, पोडकास्ट, युट्युबजस्ता प्लेटफर्ममार्फत खबर स्थानीयदेखि अन्तर्राष्ट्रिय पाठक÷दर्शकसम्म सजिलै पुग्ने बताए।

यस्तै सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले पत्रकारिता क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न यस्तो तालिम उपयोगी हुने विश्वास व्यक्त गरे। पर्वत जिल्लाको पत्रकारिताको विकासको लागि कार्यालयले सानो सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।   ।

‎कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले नेतृत्व विकास र डिजिटल दक्षता पत्रकारहरूको दीर्घकालीन क्षमता विकासका लागि अपरिहार्य रहेको बताए ।सापकोटाकै अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रमको सञ्चालन महासङ्घका सचिव साजन परियारले गरेका थिए  ।

दुइदिनसम्म संचालित तालिममा पर्वत जिल्लाका ३५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा पत्रकारहरूलाई तथ्य जाँच, डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता, सामाजिक सञ्जालको उत्तरदायित्वपूर्ण प्रयोग, र नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षक प्रवेश सुवेदीले सहजीकरण गरेका थिए  ।

ताजा

Related Articles