19.1 C
Kathmandu
Friday, April 17, 2026

मुस्लिम आयोग र इत्तेहादका अध्यक्ष पर्वतमा,कबरस्तान संरक्षण र व्यवस्थापनमा जोड

१९ बैशाख २०८२,पर्वत

पर्वतको कुश्मा नगरपालिका-५, बडागाउँमा स्थित मुस्लिम समुदायको शव राख्ने ठाउँ कबरस्तानमा पहिरोले क्षति पुर्याएपछि संरक्षण र व्यवस्थापनका लागि स्थानीयले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । पर्वतका मुस्लिम समुदायले मुस्लिम आयोगका अध्यक्ष मोहम्मद दिन अलि, मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रिय अध्यक्ष ताज मोहम्मद मिया लगायतलाई पर्वतमा स्वागत गर्दै मदरसा, मस्जिद तथा कबरस्तानको अवस्थाका बारेमा जानकारी गराउदै संरक्षणका लागि पहल गरिदिन अनुरोध गरेका हुन ।

मुस्लिम आयोगका अध्यक्ष मोहम्मद दिन अलिले संख्यात्मक हिसाबमा धौलागिरी क्षेत्रमा मुस्लिम समुदाय कम भएपनि राज्यको लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कबरस्तान संरक्षण तथा व्यवस्थापनका लागि आयोगबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका मुस्लिम समुदायसँग भेटघाट गरि समुदायका विभिन्न समस्या पहिचान गरिएको र समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो । मुस्लिम आयोग सधैं समुदायको हकहित र अधिकारीका लागि काम गरेको उहाँले बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष ताज मोहम्मद मियाले समुदायको उत्थान र विकासका लागि विभिन्न उद्यमशिलका कार्यक्रम संचालनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । मुस्लिम समुदायको समाधी स्थान कबरस्तान मर्मत सम्भारका लागि बजेट व्यवस्थापन गर्न संघ तथा प्रदेशका सम्बन्धित निकायमा अनुरोध गर्ने बताउनुभयो । एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सदस्य तथा मुस्लिम इत्तेहाद संगठन गण्डकीका अध्यक्ष मोहम्मद सहाब अलिले पर्वतमा रहेको कबरस्तान पहिरोले क्षति पुर्याएको र उक्त ठाउँमा जग्गा पनि थोरै रहेको हुँदा कबरस्तान संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग बजेटका लागि निवेदन पेस गरेको बताउनुभयोमुस्लिम इत्तेहाद संगठन पर्वतका अध्यक्ष रम्जान अलिले कबरस्तानमा पहिरोले क्षति पुर्याएपछि शव राख्ने ठाउँको अभाव हुन लागेको बताउदै कबरस्तानको पहिरोमा पर्खाल लगाउनका लागि करिब ५० लाख बजेट लाग्ने उहाँले बताउनुभयो ।

एकीकृत समाजवादी पर्वतका अध्यक्ष बिराज हमालले पार्टीले सधै श्रमजीवी वर्ग, महिला, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायको हकहित संरक्षण र प्रवर्द्धनका लागि आवाज उठाउने गरेको र सोही अनुसार काम गर्न अग्रसर भएको बताउनुभयो । कार्यक्रममा मुस्लिम सेवा समाजका अध्यक्ष जलालु दिन मिया समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण बिसि लगायतको उपस्थिति रहेको थियोे । स्वागत कार्यक्रमको संचालन पर्वत मुस्लिम सेवा समाजका सचिव अप्जर अलिले गर्नुभएको थियोे ।

ताजा

Related Articles