21.1 C
Kathmandu
Wednesday, April 29, 2026

पर्वतमा बेमौसमी बर्षाले धानबालीमा क्षति,पैंयु र बिहादी गाउँपालिकाले कृषकहरुलाई राहत दिने

१३ कार्तिक २०८२,पर्वत-बेमौसमी बर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेपछि पर्वतका कृषकहरु चिन्तित भएका छन् ।  सोमबारदेखीको लगातारको बर्षाका कारण पाकेर थन्काउन लागेको खेतीमा नोक्सान पुगेपछि मेहनत र लगानी खेर जान लागेको भन्दै कृषकहरु चिन्तित भएका हुन् । जिल्लाका अधिकांश स्थानहरूमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ । कतिपय स्थानमा धान काट्ने बेला भएको भए पनि कृषकहरूले तिहारपछि काट्ने गरी चाडबाडमा व्यस्त भएका थिए। मङ्गलवारको वर्षाले कतिपय स्थानमा काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ। नकाटेर खेतको गह्रामा नै ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरेको भए पनि सोमबारको हावाले भने धान ढलाएर क्षति भएको छ। वडाभित्रका करिब १ सय ५० रोपनी खेतमा रोपेको धानमा हावापानीले नोक्सानी पुर्‍याएको बिहादी गाउँपालिका वडा नं.२ बराचौरका कृषक तथा बाच्छाबोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुली जानकारी दिए ।  १ सय ५० रोपनी खेतको खायन धान र ६० रोपनी खेतमा लगाएको बीउँ धानमा क्षति पुगेको उनको भनाइ छ ।

फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक रघुनाथ गौडेलले आफूले लगाएको हाइब्रिड जातको धान नढलेको भए पनि स्थानीय जातका धानहरू भने ढलेको बताए। हाइब्रिड धान खासै अग्लो नहुने भएकाले क्षति कम भएको तर अग्लो पराल भएका स्थानीय जातका धान भने खेतमै लडेको उनको भनाइ छ।

“सातबीसे, बाह्रबिसे, नौबिसे, सेरा लगायतका फाँटमा धान ढलेको छ। हाइब्रिड जातको छोटो पराल भएको धान त खासै ढलेको छैन। लामो पराल भएको एक्ले, जेठ बुढो, गुडुरा जस्ता जातका धान खेतमै लडेका छन्’, उनले भने, ‘लगभग २० गतेभित्रमा काटिसक्ने धान हो। १० दिन अगाडि नै ढल्यो। कतिपय धान फूल खेल्ने बेलामा नै ढलिसकेको अवस्था छ। त्यो बेलामा त गेडामा चामल पसेको पनि हुँदैन। पराल पनि काम लाग्दैन। ढलेको धान झन् पानी परेपछि त्यही पानीले कुहाउँछ।’

बेमौसमी बर्षाका कारण पर्वतमा कृषकहरुले लगाएको हाइब्रिड धानमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतकी सुचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले जानकारी दिइन् । काटेर सुकाएका निहिन भिजाएको भन्दा हावाले ढलाएका सूचनाहरू बढी आएको र त्यसमा पनि स्थानीय जातका धानहरूमा बढी क्षति भएको कृषकहरूले बताएको सुवेदीको भनाइ छ।

ढलेको धानको बाला झर्ने, पराल कुहिने, बाला कुहिने जस्ता समस्या पनि आउँछन्। लोकल जातका धान काट्ने बेला नभइसकेकाले अधिकांश ठाउँमा धान ठाडो अवस्थामा रहेको छ।’ पैंयु र बिहादी गाउँपालिकामा बढी मात्रामा हाइब्रिड धानमा क्षति पुगेको कृषकहरुले जानकारी गराएको बताउदै  कृषि ज्ञान केन्द्रबाट क्षतिको मुल्यांकन गरेर राहत उपलब्ध गराउने उनले बताइन् ।   मौसमको अवस्थाका बारेमा बुझेर मात्रै धान सहितका अन्य बाली भित्राउने र लगाउने तयारी गर्नुपर्ने सुवेदीको भनाइ छ।

‎यसैबीच पैंयु गाउँपालिका र बिहादी गाउँपालिकाले मौसमजन्य विपत्तिबाट भएको क्षतिको संकलन गरि कृषकहरुलाई राहत उपलब्ध गराउने भएका छन्  । पालिकाहरुले सुचना जारी गरि पालिलाभित्र धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरि कृषकहरूलाई राहत उपलब्ध गराइने बताइएको छ ।

ताजा

Related Articles