21.1 C
Kathmandu
Monday, March 30, 2026

कुश्माको शताब्दी घर, संस्कृति संरक्षणमा अग्रसर

पर्वत-कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरीलाई थप मौलिक साँस्कृतिक सोचले विकास गर्ने अभिप्रायले स्थापित ‘शताब्दी घर’ कुश्मामा शनिबार ‘भजनकीर्तन साँझ’ सम्पन्न भएको छ ।

संस्कृति आफैँले गरीब–धनी छुट्याउँदैन, तर सँस्कृति अपनाउनेहरूले छुट्याइहाल्छन् । सँस्कृति भनेको सुधार्दै ल्याइएको संस्कारलाई सर्वोत्तम रुप दिएर समाजले आफूलाई अघि बढाउने एउटा प्रभावशाली साधन हो । रीतिस्थिति, परम्परा आदिलाई यसको मर्म मान्दै सँस्कृतिमा हामी ठूलो आस्था राख्छौँ र व्यवहारमा ल्याउने प्रयत्न गर्छौँ । व्यवहारमा नआई सँस्कृति जीवित रहन सक्तैन ।

व्यवहारमा नल्याएको सँस्कृति जति नै घतलाग्दो भए पनि मरेर जान्छ । यही चिन्तनले अभिप्रेरित भएर पर्वते युवाहरू एकजुट भएर भजनकीर्तनु सत्सङ्ग साँझ आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए ।

कला अनि संस्कृतिबिनाको शहर आत्माबिनाको शरीरजस्तै हो । सुन्दर सहर बन्न कला, संस्कृति, सम्पदा र सभ्यता बाँच्नुपर्छ । हाम्रो मौलिक संस्कार अन्तर्गतको भजन संस्कृति हाम्रो वैदिक परम्परासँग जोडिएको हुँदा पनि यसको उचित संरक्षण गर्नुपर्छ भनेर कार्यक्रम गरिएको पर्वत युवा संजालका भजन मण्डली संयोजक वसन्त बास्तोलाले बताए ।

संस्कृति, संस्कार र परम्परालाई परिस्कृत तुल्याउँदै जानु हरेक पुस्ताको कर्तव्य हुन्छ । पुरानो संस्कारलाई वर्तमान चेतनाको कसीमा घोटेर, बुझेर व्यवहारमा ल्याउनाले संस्कृतिको जगेर्ना हुन्छ, त्यसको विकास हुन्छ र त्यो परिस्कृत हुन्छ । हाम्रा संस्कृतिहरूमा हामीलाई सम्पन्न तुल्याउने स्रोत, सम्पदा र ज्ञान लुकेको हुन्छ । संस्कारलाई नबुझी, नचिनी यतिकै पछ्याइरहन सकिन्न ।

पुर्खाको विश्वासलाई अन्धविश्वासमा परिणत गर्ने मूल तत्व अज्ञानता हो र अज्ञानताको जड बेवास्तामा लुकेको हुन्छ । कुसंस्कारलाई त्यागेनौँ भने हाम्रो साख गिर्ने छ । कुश्माको सिर्जनशील विकासका लागि नगरबासीले एकएक बुँद सहयोग गरिदिए पनि अथाह हुनेछ । कुश्मा नगरमा सृजनात्मकता बढाउने उद्देश्यले यस्ता कार्यक्रम गर्दै जाने गिरीले बताए ।

सँस्कृति एउटा व्यापक कुरो हो । यसमा सामाजिक चरित्रसम्म निहित हुन्छ । सामाजिक चरित्र र मूल्य, व्यक्तिगत चरित्र र मूल्यहरूकै एउटा गाँठो हो । सबैभन्दा ठूलो कुरो सँस्कृतिको परिभाषालाई व्यापकता दिनुमा नै छ । सांस्कृतिक सुन्दरताले भरिएको कला घर शताब्दी घर आफैमा एउटा जीवित इतिहास हो । यहाँबाट कार्यक्रम शुभारम्भ गर्दा हाम्रो आफ्नो र संस्कृतिप्रतिको बढी सम्मान हुने देखेर नै शताब्दी घरमा कार्यक्रम आयोजना गरिएको युवा संजालका संयोजक समुन्द्र गिरीले बताए ।

धुर र आनामा खुम्चिँदै रहेको समाजलाई स्वच्छ चिन्तन गर्ने ठाउँ अब दुर्लभ भइसकेको छ । यस्तो स्थितिमा शताब्दी घर उपयोगी साबित हुनेमा हामी आशावादी छौं । समाज, संस्कृति र सभ्यताको कथा एउटै साझा मञ्च ‘शताब्दी घर’ बाट बोलिनेछ शताब्दी घरका शील्पकार आरके अदीप्त गिरीले बताए । तीन सय वर्ष पुरानो शताब्दी घरमा पहाडी वास्तुकला अवलोकन, अध्ययन र अनुसन्धान गर्न सकिन्छ।-साभार

ताजा

Related Articles