16.1 C
Kathmandu
Monday, March 30, 2026

महाशिलामा मंसिर १८ गतेदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

१६ मंसिर २०८२,पर्वत- पर्वतको महाशिला गाउँपालिकामा आगामी मंसिर १८ देखि २० गतेसम्म पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। महाशिला गाउँपालिका वडा नं ३, बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका विभिन्न विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा विद्यालयस्तरका विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई व्यवस्थित तथा आकर्षक रूपमा सम्पन्न गर्न खेलमैदान व्यवस्थापन, प्रशिक्षक परिचालन, स्वास्थ्य सेवा, सम्प्रेषण तथा भौतिक पूर्वाधारका पक्षमा गाउँपालिका, विद्यालय तथा स्थानीय समुदाय  सक्रिय रूपमा जुटिरहेका छन्।

तीन दिनसम्म चल्ने यो प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गाउँपालिकाको रहेको छ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाइ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, अभिभावक, विद्यालय, समुदाय तथा स्थानीयवासीहरूको सहयोग आवश्यक हुने बताउँदै गाउँपालिकाले सबैलाई उपस्थित भई प्रतिस्पर्धी विद्यार्थीहरूलाई हौसला बढाउन आग्रह गरेको छ।

ताजा

Related Articles