पर्वत-फागुन २१ गते हुने आसन्न  प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना स्वतन्त्र हुन् ।

मुख्य निर्वाचन कार्यालय पर्वतले उम्मेदवारी मनोनयन दर्ताका लागि दिएको फरकफरक समय तालिका अनुसार उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेहरुमा पाका उमेर समूहकादेखि युवा पुस्तासम्मका छन् । प्रतिनिधिसभा सदस्यका लागि मैदानमा खडा हुँदै गरेका उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशी, नेकपा एमाले पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिना रहेका छन् । यी तीनै उम्मेदवार आआफ्नो पार्टीका केन्द्रिय सदस्य हुुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुषाल चुनावी मैदानमा हुनुहुन्छ ।

यसैगरी प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट दुर्गा मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्ण बहादुर वि.क., आम जनता पार्टी(एकल चुनाव चिन्ह) का पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपाने पनि चुनावमा प्रतिस्पर्धी रहनु भएको छ । चुनावी मैदानमा होमिने अन्य आकांक्षीहरुमा राष्ट्रिय जनमुक्ति पार्टीका माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीर बहादुर गुरुङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यलयका सूचना अधिकारी ख्याम नारायण लामिछानेले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयका अनुसार स्वतन्त्रबाट उम्मेदवार हुनुहुनेमा सितादेवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल हुनुहुन्छ । चुनावमा उम्मेदवारी धेरै जनाको भए पनि खास प्रतिस्पर्धा भने चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवार विच नै कडा प्रतिस्पर्धा हुने आंकलन छ । मंगलबार चार पार्टीले छुट्टाछुट्टै प्रदर्शन गरेको कार्यकर्ताको जुलुस प्रदर्शनले पनि यही देखाउँछ ।

जिल्लामा आउँदो निर्वाचनका लागि कायम गरिएका ७६ वटा मतदान स्थल र एक सय ५१ वटा मतदान केन्द्रबाट एक लाख २५ हजार चार सय ६६ मतदाताले आफूलाई योग्य लागेको एक जना प्रतिनिधि सभा सदस्य चयन गर्ने छन् ।

पर्वतबाट प्रतिनिधि सभा निर्वाचन-८२ उमेदवारहरुको विवरण