पर्वतमा यहीँ माघ २७ देखि २९ गतेसम्म किशोरीहरुलाई एचपिभी खोप लगाइने

२१ माघ, पर्वत-पर्वतमा यहीँ माघ २७ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ।  सात स्थानीय तहका ६१ वटा वडामा रहेका १ सय २७ विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरु गरि ९ सय ५० जना किशोरीहरुलाई खोप लगाउन लागिएको हो ।  जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्यनरत किशोरीहरुलाई खोप अभियान संचालन गरि सम्वन्धित विद्यालयमै खोप केन्द्र खड़ा गरेर खोप लगाईने प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले जानकारी दिनुभयो । यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समुहका शोरीलाई पनि खोप दिईने भएको छ।  खोप अभियानलाई एकै चरणमा सञ्चालन गरिने भएको छ। जसका लागि एक सय २७ जना स्वास्थ्यकर्मी र एक सय २७ जना स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले बताउनुभयो । महिलाहरुको शारिरीक र प्रजनन् स्वास्थ्यसँग जोडिएको एचपिभि खोप लगाउने अभियानलाई सफल बनाउन सवैको सहयोग हुनुपर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो। क्यान्सरजस्तो प्राणघातक रोगप्रति सवै सचेत र सजग हुनुपर्ने बताउँदै उहाँले कोहिपनि छुट्न नहुने बताउनुभयो । उहाँले अभियानमा छुटेकाहरुलाई थप एक साताको समय दिएर भएपनि मेट्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस भनेर प्रचार प्रसारलाई व्यापक बनाउनुपर्ने बताउनुभयो। उहाँले खोपप्रतिको नकारात्मक धारणा बनाउन नहुने बताउनुभयो ।

अभियानलाई सफल बनाउन सबै सरोकारवालाहरुले सकारात्मक पहल गर्नुपर्ने प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम बहादुर परियारले बताउनुभयो । प्रचारप्रसारको माध्यमबाट खोप अभियानलाई प्रभावकारी बनाउन जोड दिने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले बताउनुभयो ।  जिल्लाका सातवटै पालिका र वडा स्तरमा पनि खोप अभियानको तयारी भैरहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। पर्वतमा गत वर्ष चार हजार सात सय ४९ जनालाई एचपिभि खोप लगाईएको थियो।

ताजा

Related Articles