पर्वत- हाम्रो समाजमा पछिल्लो समय तडक भडक र फजुल खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । तर एक युवाले आफ्नो जन्मदिन मनाउने खर्च कटाएर सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका पर्वतको कुश्मा नगरपालिका -१ पाङका समाजसेवी सुरेश घतानले यहीँ माघ २२ गते आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको हो । कुश्मा स्थित शिवालय माबिमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुको लागि २६ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको घतानेले जानकारी दिनुभयो । बिद्यालयमा पुगेर सुरेस घतानेका बुबा मनकाजी बिक र आमा कलि बिकले बिद्यालयका प्रअ भूपेन्द्र चापागाईलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । समाजसेवी सुरेश घतानेले हरेक बर्ष आफ्नो जन्मदिनको अवसरमा गरिब, असहाय तथा दीर्घरोगीहरुलाई सहयोग गर्दै आउनुभएको छ । ” सेवा नै मानवीय धर्म भएको उल्लेख गर्दै आफ्नो कमाइको केही प्रतिशत दिनदुखी, रोगी र समस्यामा परेकालाई सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामी केहि काम गर्न सक्नेले अशक्त, असहाय र समस्या परेकालाई मानवीय हिसाब सहयोग गर्नुपर्छ, मैले आफुले सक्दो सहयोग गर्दै आएको छु, पिडामा मलम लगाउने, सहयोग गर्ने मेरो बानी परिसक्यो।” आफू परदेशमा भएपनि देशप्रतिको माया मनमा रहेको बताउदै कमाएको केही अंश आफ्नो गाउँठाउँमा रहेका असहाय र दुखी पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको घतानको भनाइ छ । आगामी दिनहरुमा पनि विपन्न, असहाय तथा अशक्तको सेवामा समर्पित रहने उहाँले बताउनुभएको छ ।


