८ असोज २०८३,पर्वत -जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान तथा बुलेटिनमा पर्वत जिल्लालगायत देशभर भारी वर्षाको उच्च सम्भावना देखिएपछि पर्वतका दुई स्थानीय तहले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेका छन्।
महाशिला गाउँपालिका र मोदी गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै २०८३ असोज ८ र ९ गते दुई दिन गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
दुवै गाउँपालिकाले मौसममा देखिएको प्रतिकूल अवस्था तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तथा सार्वजनिक बिदाबाट समायोजन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएका छन्।
महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म पर्वतलगायत देशभर भारी वर्षाको उच्च सम्भावना रहेको उल्लेख गरिएको छ।
त्यस्तै, मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा प्रकाशित सूचनामा पनि मौसमसम्बन्धी पूर्वानुमान र नेपाल सरकार, शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको सूचनालाई आधार बनाउँदै असोज ८ र ९ गते दुई दिन विद्यालय बिदा गर्न अनुरोध गरिएको छ।
दुवै स्थानीय तहले सम्भावित जोखिमबाट बच्न उक्त अवधिमा विद्यार्थी तथा अभिभावकलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।



