कार्यक्रमले छात्राहरूलाई डिजिटल साक्षरता, नेतृत्व क्षमता र सीप विकासमार्फत प्रविधि क्षेत्रमा सक्षम र आदर्श व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत प्रविधि तथा नेतृत्व तालिम प्रदान गरिनुका साथै १८ सयभन्दा बढीलाई क्यास्केड तालिम सञ्चालन गरिनेछ ।
कार्यक्रममा रिड नेपालका ट्याग कार्यक्रम संयोजक भाग्यश्री बिष्ट सहभागी हुनुभएको थियो । कार्यक्रममा संयोजक बिष्टले ट्याग कार्यक्रमको उद्देश्य, कार्ययोजना र अपेक्षित प्रभावबारे जानकारी दिँदै १५ महिनासम्म सञ्चालन हुने यस परियोजनाको कुल लागत १२ लाख २२ हजार ३०० रहेको बताउनुभयो। उक्त लागतको ५० प्रतिशत रिड नेपाल र बाँकी ५० प्रतिशत समुदायको साझेदारीमा व्यवस्थापन गरिनेछ । यसका लागि पुस्तकालयले नगरपालिकासँग आवश्यक सहयोगको अनुरोध गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तिवारीले शिक्षा तथा पठन संस्कृतिको विकासमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै परियोजना सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले परियोजनाले समुदायमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभएको थियो । पुस्तकालयमा महत्त्वपूर्ण र प्रभावकारी कार्यक्रम संचालन भएको बताउदै कार्यक्रमबाट लाभान्वित हुन सबैलाई अनुरोध गर्दै सहयोगी संस्था रिड नेपाललाई धन्यवाद दिनुभयो ।
त्यस क्रममा सहभागीहरूबीच कार्यक्रमको प्रभावकारिता, दिगोपना र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियोे ।

