२७ फागुन २०८२, पर्वत-पर्वत जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमूना सङ्कलन गरी गरिएको र्यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
यसैबीच पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा एक फार्ममा पालिएका ४६ वटा बंगुर मरेपछि कुश्मा बजारमा बंगुर ओसारपसार र संकलित दाना प्रयोग नगर्न कुश्मा नगरपालिकाले सूचना जारी गरि कृषकहरुलाई अनुरोध गरिएको छ ।


