पर्वत- प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्वत शाखाको समन्वयमा पर्वतमा सञ्चार माध्यमहरूको अवस्था, चुनौती, अवसर तथा भावी रणनीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बदलिँदो परिवेश, आर्थिक मन्दी तथा पछिल्ला सरकारी नीतिका कारण सञ्चार क्षेत्रमा परेको प्रभाव र यसको सुदृढीकरणका लागि आगामी दिनमा सरकारले अवलम्बन गर्नुपर्ने योजनाबारे कार्यक्रममा गहन छलफल गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रत्यक्ष जानकारी लिन तथा आगामी योजना निर्माणका लागि जिल्लास्तरमै पुगेर छलफल सुरु गरिएको बताउनुभयो।
उहाँले स्थानीय सञ्चार माध्यमको सुदृढीकरण, दिगोपन र व्यावसायिक विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत पहल गरिने उल्लेख गर्दै मिडिया उद्यमीलाई आकर्षित गर्ने खालको नीति निर्माणमा कार्यालय लागिपरेको बताउनुभयो।
छलफलका क्रममा सञ्चार माध्यमका सञ्चालक तथा सहभागीहरूले स्थानीय सञ्चार माध्यमलाई सशक्त बनाउन तीनै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले प्रेस रजिष्ट्रार कार्यालयले स्थानीय सञ्चार माध्यमलाई लक्षित गरी दीर्घकालीन योजना, अनुदान, तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शेयरकास्ट इनिशियटिभ नेपालका सिइओ तथा मिडिया अनुसन्धानकर्ता मधु आचार्य र सेन्टर फर मिडियाका सञ्चालक एवं मिडिया अनुसन्धानकर्ता डा। भूमिराज चापागाईंले पछिल्लो परिवेशअनुसार सञ्चार माध्यमहरू रूपान्तरण हुनुपर्ने बताउनुभयो। दर्शक, श्रोता र पाठकले चाहेजस्तो सामग्री उत्पादन गर्न सके सञ्चार माध्यम टिकाउन कठिन नहुने उहाँहरूको भनाइ थियो।
उहाँहरूले परम्परागत शैलीबाट बाहिर निस्केर डिजिटल युगअनुसार सञ्चार माध्यमले आफूलाई रूपान्तरण गर्नुपर्ने, सामाजिक सञ्जालसँगको प्रतिस्पर्धालाई अवसरका रूपमा लिनुपर्ने तथा विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिनुभयो। साथै खोजमूलक पत्रकारिता, स्थानीय मुद्दाको प्राथमिकता र नागरिक सहभागिता बढाउनुपर्ने धारणा राखिएको थियो।
कार्यक्रममा पत्रकारहरूले गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समेटिनुपर्ने योजना तथा कार्यक्रमबारे समेत सुझाव दिएका थिए।
प्रेस रजिष्ट्रार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो भने सञ्चालन महासंघका सचिव साजन परियारले गर्नुभएको थियो। कार्यक्रममा पत्रकार राजेन्द्र पहाडी, सन्तोष थापा, गणेश पौडेल, प्रणिश गिरी, माया अधिकारी, विष्णु गौतम लगायतले धारणा राख्नुभएको थियो।

