१ जेष्ठ २०८२,पर्वत-गण्डकी प्रदेशका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई महिने डेटा ड्रिभन जर्नालिजम कोर्स सम्पन्न भएको छ। प्रेस रजिस्ट्रार कार्यालय पोखराको आयोजना तथा सिएमआर नेपालको प्राविधिक सहयोगमा पोखरामा संचालित उक्त तालिम शुक्रबार सम्पन्न भएको हो । पत्रकारितामा तथ्यमा आधारित समाचार सम्प्रेषण र डेटा विश्लेषण क्षमताको विकास गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका १८ जना पत्रकारले उक्त कोर्स लिएका हुन् ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डेटा प्रविधिको प्रभावकारी प्रयोगले पत्रकारितालाई अझ विश्वसनीय, तथ्यपरक र अनुसन्धानमुखी बनाउने बताउनुभयो। उहाँले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा पनि तथ्य र प्रमाणमा आधारित समाचार उत्पादन आवश्यक रहेको उल्लेख गर्दै दक्ष जनशक्ति निर्माणमा यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलका सचिव कृष्णप्रसाद लम्सालले पत्रकारिताको बदलिँदो स्वरूपसँगै डेटा विश्लेषण सीप अपरिहार्य बन्दै गएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई तथ्यमा आधारित सूचना सम्प्रेषणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारहरुको पत्रकारिताको विकास र प्रबर्द्धनका लागि सरकारले यथेष्ट बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, प्रेस रजिस्ट्रार कार्यालय पोखराकी प्रेस रजिस्ट्रार बिमला भण्डारीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमलाई निरन्तरता दिइने बताउनुभयो । प्रदेशमा रहेका संचारमाध्यम नियमन तथा संचारकर्मीहरुको हकहितका लागि प्रेस रजिस्ट्रार कार्यालयले सकारात्मक र रचनात्मक कार्यहरू गर्दै आइरहेको उहाँले बताउनुभयो । हककार्यक्रममा मुख्य प्रशिक्षक उमेश श्रेष्ठ, सहभागीको तर्फबाट प्रकाश ढकाल, खिमा गुरुङ र श्रीधर उपाध्यायले बोल्नुभएको थियोे ।तालिममा सिएमआर नेपालका प्रशिक्षकहरू उमेश श्रेष्ठ, चेतना कुँवर र अरुण कार्कीले सहजीकरण गर्नुभएको थियो। तालिम दुई हप्ता भौतिक उपस्थितिमा तथा ६ हप्ता अनलाइन माध्यमबाट सञ्चालन गरिएको थियो ।
तालिममा डेटा सङ्कलन, विश्लेषण, तथ्य प्रमाणीकरण, डेटा भिजुअलाइजेसन तथा डिजिटल उपकरणको प्रयोगबारे व्यावहारिक अभ्यास गराइएको थियो। सहभागी पत्रकारहरूले तालिमबाट खोजमूलक र तथ्यमा आधारित समाचार उत्पादनमा नयाँ सीप हासिल गरेको बताएका छन्।

