७ जेष्ठ २०८३,पर्वत-सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रवैया तथा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने निर्णयको विरोधमा पर्वतमा मिडिया सञ्चालकहरूले हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको सर्कुलर बमोजिम आज नेपाल पत्रकार महासंघ पर्वत शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा पत्रकारहरूले हस्ताक्षर गरेका हुन्। अभियानमा सहभागी सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने तथा सरकारी विज्ञापन वितरणमा विभेदकारी नीति अवलम्बन गर्ने कार्यले निजी तथा स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने बताएका छन्। उनीहरूले लोकतान्त्रिक व्यवस्थामा सबै सञ्चारमाध्यमलाई समान व्यवहार गरिनुपर्ने र सरकारले आफ्नो निर्णय सच्याउनुपर्ने माग समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मूल आधार भएको बताउनुभयो। उहाँले सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी ल्याइएका नीतिहरूले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गरेको उल्लेख गर्नुभयो। अध्यक्ष सापकोटाले सरकारी विज्ञापन राज्यका सञ्चारमाध्यमलाई मात्रै केन्द्रित गर्ने निर्णयले निजी तथा मोफसलका मिडियामाथि अन्याय भएको धारणा राख्दै समानुपातिक र पारदर्शी विज्ञापन वितरण नीति लागू गर्न सरकारसँग माग गर्नुभयो। त्यसैगरी, महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रयास पत्रकार महासंघलाई स्वीकार्य नहुने बताउनुभयो। उहाँले राज्यले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने नभई स्वतन्त्र र जिम्मेवार पत्रकारिताका लागि वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। तिवारीले सरकारी विज्ञापन वितरणमा विभेद गरिए मोफसलका सञ्चारमाध्यम थप संकटमा पर्ने भन्दै यस्ता निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गर्नुभयो। महासंघले देशभर सञ्चालन भइरहेको अभियान अन्तर्गत पर्वतमा समेत हस्ताक्षर संकलन अभियानसँगै अन्य दबाबका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
हस्ताक्षर अभियानमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका निवर्तमान अध्यक्ष सन्तोष थापा, शाखाका सल्लाहकार गणेश गिरी लगायत जिल्ला स्थित रेडियो, पत्रीका र अनलाइनका संचालकहरुको सहभागीता रहेको थियो ।

