महाशिलामा चालू आर्थिक बर्षका योजना तथा कार्यक्रम जेष्ठ २८ गतेसम्म फरफारक गरिसक्नुपर्ने

२६ जेष्ठ २०८३, पर्वत- पर्वतको महाशिला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमहरूको फरफारक यही जेष्ठ २८ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भएको छ। गत शुक्रबार पालिकाबाट एक सूचना जारी गरि चालु आर्थिक बर्ष २०८२/०८३ का योजना तथा कार्यक्रमहरु समयमै फरफारक गर्न अनुरोध गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षका सम्पूर्ण विकास निर्माण तथा कार्यक्रमहरूको लेखा–जोखा, भुक्तानी प्रक्रिया र अन्तिम मिलान कार्य तोकिएको समयभित्रै पूरा गर्न सम्बन्धित शाखा तथा उपभोक्ता समितिहरूलाई निर्देशन दिइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले चालु आर्थिक बर्षमा सम्झौता भइ संचालनमा रहेका सबै योजना तथा कार्यक्रम निर्धारित समयभित्र काम सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरूको फरफारक जेष्ठ २८ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ। यसका लागि सबै उपभोक्ता समिति, प्राविधिक शाखा र सम्बन्धित कर्मचारीहरू समयमै सक्रिय हुन आवश्यक छ।”

उहाँले समयमै फरफारक नगरे प्रशासनिक तथा आर्थिक प्रक्रियामा ढिलाइ हुने भएकाले सबैलाई जिम्मेवारीपूर्वक काम गर्न पनि आग्रह गर्नुभयो।

गाउँपालिकाले सुशासन र पारदर्शितामा जोड दिदै समयमै योजना फरफारक सम्पन्न गरी नयाँ आर्थिक वर्षको तयारी सहज बनाउने लक्ष्य लिएको छ।

ताजा

Related Articles