पर्वत प्रहरीको “स्विप अपरेशन”: एक सातामै १९ थान अबैध भरुवा बन्दुक बरामद

२० असार २०८३, पर्वत-जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध हतियार धमाधम रुपमा बरामद गर्न थालेको छ । करिब एक साताको अवधिमा जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा लुकाइएका १९ थान अवैध भरुवा बन्दुक बरामद गरिएको हो । वन्यजन्तुको अवैध सिकार नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष ‘स्विप अपरेशन’ अन्तर्गत उक्त बन्दुकहरू फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार मात्रै कुश्मा नगरपालिका–७ स्थित चिसापानी सामुदायिक वनबाट ७ थान तथा जलजला गाउँपालिका–४ स्थित फेदी सोरेनी सामुदायिक वनबाट ४ थान गरी ११ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा बरामद गरिएको हो। यसअघि केही दिनअघि मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक वन क्षेत्रबाट ८ थान भरुवा बन्दुक बरामद गरिएको थियो। यससँगै एक साताभित्र बरामद भएका अवैध भरुवा बन्दुकको संख्या १९ पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश पौडेलले अवैध हतियार नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइएको बताउँदै जिल्लाभित्र अवैध रूपमा लुकाइएका तथा वन्यजन्तुको सिकारमा प्रयोग हुन सक्ने भरुवा बन्दुक खोजी तथा नियन्त्रण अभियान निरन्तर सञ्चालन भइरहेको बताउनुभयो । बरामद भएका सबै बन्दुक सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो ।

अवैध हतियार लुकाएर राख्ने, प्रयोग गर्ने वा त्यसबारे जानकारी लुकाउने कार्य कानुनविपरीत हुने भएकाले यस्ता गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गर्नुभयो ।

पर्वत प्रहरीले पछिल्लो समय जिल्लाभर वन क्षेत्र केन्द्रित विशेष निगरानी र खोजतलास अभियान सञ्चालन गर्दै आएको छ। प्रहरीका अनुसार यस अभियानले अवैध हतियार नियन्त्रण, वन्यजन्तुको चोरीसिकार न्यूनीकरण तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रहरीले आगामी दिनमा पनि सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा यस्ता विशेष अभियानलाई निरन्तरता दिइने जनाएको छ।

ताजा

Related Articles