पर्वतमा दोस्रो जेसीज कप सुरु,प्रदेश मन्त्री गुरुङद्वारा उद्घाटन

२८ साउन २०८३,पर्वत — पर्वतको सदरमुकाम कुश्मामा बिहिबारदेखी दोस्रो पर्वत जेसीज कप–२०२६ सुरु भएको छ। पर्वत जेसीजको आयोजनामा सञ्चालन भइरहेको खुला ७ ए साइड फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले उद्घाटन गर्नुभयो।

प्रतियोगिता साउन २८ देखि ३१ गतेसम्म कुश्मास्थित बडागाउँचौर खेलमैदानमा सञ्चालन भएको छ। गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई निरन्तरता दिँदै पर्वत जेसीजले यस वर्ष दोस्रो संस्करण आयोजना गरेको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले खेलकुद युवाको ऊर्जा, अनुशासन, नेतृत्व क्षमता र सामाजिक एकता विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले युवाको प्रतिभा पहिचान र विकासका लागि स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

मन्त्री गुरुङले खेलकुदको माध्यमबाट युवालाई सकारात्मक र सिर्जनशील गतिविधिमा जोड्न आवश्यक रहेको बताउँदै यस्ता अभियानमा प्रदेश सरकारको सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतियोगितामा सहभागी खेलाडी तथा आयोजकलाई सफलताको शुभकामना पनि दिनुभयो।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, पर्वत अध्यक्षीय क्लबका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पर्वत जेसीज–२०२६ की अध्यक्ष एलिजा श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले जिल्लामा खेलकुदको वातावरण निर्माण, युवा प्रतिभाको विकास र आपसी भाइचाराका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै पर्वत जेसिज-२०२६ कि अध्यक्ष शर्मिला पौडेलले युवाहरूमा एकता, सद्भाव र खेलकुदको विकास गर्ने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण व्यक्त तथा संघसंस्थाहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतियोगितामा देशभरबाट २७ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, हाइस्कोरर, राइजिङ प्लेयर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पुरस्कार प्रदान गरिनेछ । पर्वत जेसिजका अध्यक्ष शर्मिला शर्माको अध्यक्ष खेल संयोजक एन्जल कर्माचार्यको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव रामचन्द्र सुवेदीले गर्नुभएको थियोे ।

चार दिनसम्म चल्ने प्रतियोगिताले पर्वतमा फुटबल खेलको विकाससँगै स्थानीय तथा बाह्य खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

ताजा

Related Articles