१ भदौ २०८३, पर्वत – पर्वतको मोदी गाउँपालिकाका वडा नं २ देउपुर र वडा नं ५ बाजुङलाई बालमैत्री तथा स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार, सहभागिता, संरक्षण र समग्र विकासलाई प्राथमिकतामा राख्दै बालमैत्री तथा स्थानीय शासनका आवश्यक सूचकहरू पूरा गरेपछि दुवै वडालाई विशेष समारोहबीच औपचारिक रूपमा घोषणा गरिएको हो।
बालबालिकाको सर्वोत्तम हितलाई स्थानीय शासनको केन्द्रमा राख्दै बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत देउपुर र बाजुङले आवश्यक सूचकहरू पूरा गरेका हुन्। बालमैत्री स्थानीय शासनले बालबालिकालाई केवल संरक्षणको विषयका रूपमा नभई स्थानीय विकास र निर्णय प्रक्रियाका महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्दछ।
घोषणा कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी, वडा नं। २ का अध्यक्ष बेलबहादुर कार्की र वडा नं ५ का अध्यक्ष मानबहादुर अधिकारी लगायत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, बालबालिका, विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले बालबालिकामा गरिएको लगानी नै स्थानीय तहको दीर्घकालीन विकासको आधार भएको बताएका थिए। बालबालिकाको अधिकार सुनिश्चित नगरी समृद्ध र सभ्य समाज निर्माण गर्न नसकिने भन्दै स्थानीय तहले बालमैत्री नीति, कार्यक्रम र बजेटलाई निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।

