१ असोज २०८३,पर्वत- पर्वतको सदरमुकाम कुश्मामा शिक्षा तथा साक्षरता दिवसका अवसरमा माध्यमिक तह, जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ पर्वतको आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।
‘समृद्धिका लागि समावेशिता र डिजिटल साक्षरता’ विषयमा आयोजित प्रतियोगितामा जिल्ला स्थित विभिन्न विद्यालयका ९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा जलजला गाउँपालिका स्थित शिव माध्यमिक विद्यालयकी कृति आचार्य प्रथम, महाशिला गाउँपालिका स्थित सूर्य माध्यमिक विद्यालयकी प्रकृति सुवेदी द्वितीय, पैँयु गाउँपालिका स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयकी शिला सापकोटा तृतीय तथा जलजला गाउँपालिका स्थित शिव माध्यमिक विद्यालयका अनुराग सुवेदी सान्त्वना भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख विदुर शर्मा चापागाईंले समावेशी शिक्षा र डिजिटल साक्षरता वर्तमान समयको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो। प्रविधिको सही र सुरक्षित प्रयोगसँगै सबै वर्ग, समुदाय र क्षेत्रका बालबालिकालाई शिक्षाको समान अवसर उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँका अनुसार विद्यार्थीमा रहेका प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्फुटन गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने एकाई प्रमुख चापागाईंको भनाइ थियो । प्रतियोगितामा मोदी गाउँपालिका बाहेक ६ वटा स्थानीय तहका विभिन्न विद्यालयका ९ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ । उक्त कार्यक्रमको संचालन शिक्षा विकास तथा समन्वय एकाई पर्वतका प्रावि चिरञ्जीवी न्यौपानेले गर्नुभएको थियो ।

