23.1 C
Kathmandu
Monday, July 15, 2024

तीन वटै तहको चुनाव सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने मन्त्री पौडेलको दाबी

काठमाण्डाै/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको चुनाव सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गर्नु भएको छ ।

सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताउनु भयो । शनिबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको चुनाव सम्पन्न हुनेबित्तिकै सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने बताउनु भयो ।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको चुनाव कम्प्लिट गर्छ र, यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार चुनावको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल चुनाव गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ’ मन्त्री पौडेलले भन्नु भयो, ‘स्थानीय तहको चुनाव एकैपटक गर्ने घोषणा भइसकेको छ । अब सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको चुनावको मिति पनि स्थानीय तहको चुनाव सम्पन्न हुनेबित्तिकै घोषणा हुन्छ । यो एक वर्ष चुनावको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा चुनावको प्रतिस्पर्धामा जानेछ ।’

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर चुनावमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरुबीच पनि यही सहमति भएको बताउनु भयो । यस्तै मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको पनि बताउनु भयो ।

ताजा

Related Articles