लक्ष्मण विश्वकर्मा,पर्वत/साबिक धौलागिरी अञ्चलको पहिलो क्याम्पस, फलेवास नगरपालिका ६ देविस्थान पर्वत स्थित पर्वत बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सोमबार क्याम्पसमा विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाइएको हो । 
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले ग्रामिण भेगमा रहेको क्याम्पसले उच्च शिक्षा प्रदान गर्न उल्लेखनीय भुमिका खेलेको बताउदै क्याम्पसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।देशको आवश्यकता अनुसार शिक्षा प्रणालीलाई सुधार गर्दै स्थानीय स्तरमै स्वरोजगार बन्न सक्ने खालको शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले युग सुहाउँदो गुणस्तरीय शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । क्याम्पसको शैक्षिक उन्नयन तथा क्याम्पस संचालनमा सहजताका लागि नगरपालिकाको तर्फबाट २ वटा शिक्षक व्यवस्थापन गरेको बताउनुभयो ।
क्याम्पस प्रमुख हेम शर्मा रेग्मीले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।कार्यक्रममा वडा अध्यक्ष भोलानाथ भुसाल, भुपु क्याम्पस संचालक समिति अध्यक्ष कृष्ण प्रसाद लम्साल, भुपु क्याम्पस प्रमुख जगन्नाथ लम्साल, भुपु विद्यार्थी दिपक तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रम क्याम्पसका संस्थापक सदस्य, भुपु तथा वर्तमान क्याम्पस संचालन समिति अध्यक्ष तथा प्राध्यापक, चंदादाता तथा अन्य सहयोगी लगायतलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियोे । सोही अवसरमा क्याम्पसको सबै गतिविधि समेटेर स्मारिका प्रकाशित गरि विमोचन समेत गरिएको छ । विद्यार्थीहरुले साहित्य रचना, नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्राध्यापकहरु लाल प्रसाद शर्मा र टुकनाथ शर्माले गर्नुभएको थियो ।
पर्वत बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सब तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न।

