लक्ष्मण विश्वकर्मा/पर्वत जिल्लामा १३ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान आजबाट सुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका -१ पाङमा हात्तीपाइलेको संक्रमण भेटिएकाले उक्त रोग विरुद्ध जिल्लाभर नै आम औषधि खुवाउने अभियान सुरु भएको हो ।
रोगको जोखिम रहेको पाङमा एक कार्यक्रमको आयोजना गरि स्थानीय ८४ बर्षिय उमानन्द रिजाललाई औषधि खुवाएर अभियानको सुरु गरिएको छ । पटक–पटक औषधि खुवाए पनि सबैले औषधि नखाएको कारण रोगको जोखिम भएकाले पर्वतमा १३ औं चरण उक्त रोग विरुद्धको औषधि खुवाउन अभियान संचालन भएको कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमकान्त सापकोटाले बताउनुभयो । जिल्लामा हात्तीपाइले रोगको जोखिम रहेकाले आम औषधि सेवन अभियान नै संचालन गरिएको बताउदै सबैलाई औषधि खाना आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव श्रीराम तिवारीले पर्वतसहित गण्डकी प्रदेशमा बागलुङ र लमजुङ अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बताउनुभयो । नागरिकको लापरबाही र औषधि सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौती देखिएको उहाँले बताउनुभयो । भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले उक्त रोग लाग्नबाट बच्नका लागि निसंकोच औषधि खानुपर्नेमा जोड दिनुभयो । कुश्मा नगरपालिका १ पाङका निमित्त वडा अध्यक्ष विरेन्द्र रिजालले आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउने र यो बर्ष सतप्रतिशतलाई औषधि खुवाएर जिल्लालाई हात्तीपाइले मुक्त बनाउनुपर्ने बताउनुभयो ।
कुश्मा नगरपालिका १ पाङका निमित्त वडा अध्यक्ष विरेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हात्तीपाइले रोग निवारण अभियान पर्वतका फोकल प्रसन तेज प्रसाद सुवेदीले गर्नुभएको थियो ।
जिल्लाको पाङ र खानीगाउँमा नमुनाको रुपमा परिक्षण गर्दा ५.३३ प्रतिशतमा संक्रमण देखिएको छ । खानीगाउँमा भने उक्त रोगको संक्रमण नभएको तर सबैले औषधि सेवन गर्नुपर्ने फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले बताउनुभएको छ ।
पर्वतमा १ हप्तासम्म औषधि खुवाइने छ । डिईसी र अल्बेन्डाजोल नामक औषधि अनिवार्य सेवन गर्नुपर्ने पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिवी क्षेत्रीले जानकारी दिनुभयो । औषधि २ बर्ष मुनिका बालवालिका र गर्भवती महिलालाई बाहेक अन्य सबैलाई अनिवार्य खुवाइने पनि क्षेत्रीले बताउनुभयो । गत वर्ष ८४ प्रतिशत नागरिकले मात्रै औषधि सेवन गरेका थिए ।जिल्लामा करिब १ लाख ११ हजार ७ सय २५ जनालाई औषधि खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका जिल्लाको पहिचान गरी आगामी २८ गतेदेखि औषधि सेवन अभियान शुुरु गरेको हो ।
आजबाट पर्वत जिल्लाभर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु!

