28.1 C
Kathmandu
Tuesday, July 16, 2024

कुर्घा वडा कार्यालय तथा स्वास्थ्य चौकीको भवन र बर्थिङ सेण्टरको उद्घाटन

पर्वत/पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकाभित्रका विकासलाई दिगो हुने गरी सञ्चालन गरिएको बताएका छन्।फलेवास नगरपालिका–१० कुर्घाको नवनिर्मित पक्की भवन तथा स्वास्थ्य चौकीको नयाँ भवन र बर्थिङ सेण्टरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। आफ्नो पाँच वर्षको कार्यकालको अवधिमा लोकप्रियता कमाउने भन्दा पनि दिगो र दीर्घकालिन विकासमा जोड दिएको उनले उल्लेख गरे।‘लोकप्रिय हुने मात्रै काम गरेको त भए त यस्ता पक्की भवनहरु कहाँ बनेका हुन्थे? अब आउने जनप्रतिनिधिले पनि सुबिधायुक्त ठाउँमा बसेर काम गर्ने वातावरण बनेको छ। हामीले भर्खरै देखिने खालका भन्दा पनि टिकाउ हुने योजनामा ध्यान दियौँ,’ नगर प्रमुख शर्माले भने, ‘अस्थायी रुपमा बस्दै आएको नगरपालिका पनि समथर र सुबिधाजनक ठाउँमा सरेको छ। ६० रोपनी जग्गा भएको त्यस्तो ठाउँबाट सेवा दिँदा नागरिकलाई कति सजिलो भइरहेको छ।’नगरपालिकाभित्रका सडक वा अन्य भौतिक निर्माणका काममा ठेकेदारहरुको डोजर महङ्गो मूल्यमा लिएर बजेट सकिरहेको अवस्थामा नगरपालिकाले सहासका साथ दुई ओटा डोजर किनेर आवश्यक परेको ठाउँमा सस्तोमा काम गर्न सकिरहेको उनको भनाई छ। आवश्यक परेका ठाउँमा २४ घण्टाभित्रैमा डोजर पठाउन सकेका कारण नगरपालिकाका कुनै पनि सडकहरु अवरुद्ध हुने अवस्था नरहेको नगर प्रमुख शर्माले बताए।जनप्रतिनिधिहरुलाई चुनौती र समस्याहरु धेरै आउने भए पनि ती सबैलाई सहँदै व्यवस्थापन गरेर अगाडि बढ्न सकेमा कार्यसम्पादन राम्रो हुने उनको भनाई छ। यस्तै विद्यालयमा क्रमिक रुपमा अङ्ग्रेजी माध्यम लागू गर्दै जानु, विपन्नलाई लक्षित गरेर नगरपालिकाको तर्फबाट मासिक एक हजार रुपैयाँ नागरिक लगानी कोषमा जम्मा गरिनु लगायतका कामहरु नागरिकमैत्री भएको पनि नगर प्रमुख शर्माले बताए।यस्तै फलेवास नगरपालिका–४ मुडिकुवाका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले विदुर पुरुषलाई पनि भत्ता दिन सुरु गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए। वडा नं. ८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवरले काम नगरेसम्म समृद्धी प्राप्त नहुने भएकाले जनप्रतिनिधिहरु काममा प्रतिबद्ध रहनुपर्ने उल्लेख गरे।नगरपालिकाका योजना व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले नगरपालिकाभित्र रहेको भौगोलिक विविधताका आधारमा विकासलाई प्राथमिकता दिएको बताउँदै स्थानीय आवश्यकताको आधारमा काम गरिएको बताए। सडक, पानी, स्वास्थ्य लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेख्य काम गरेको बताउँदै उनले नागरिकको सक्रियतामा भएका कामहरु गुणस्तर र छिटो हुने उल्लेख गरे। नगरपालिकाका स्वास्थ्य संयोजक रुद्र शर्मा सापकोटाले कोरोना कहरमा समेत नगरपालिकाले नागरिकलाई निकै नजिकबाट सहयोग गरेको बताउँदै नगरबासीहरुको स्वास्थ्य प्रवद्र्धनका लागि विभिन्न योजनाहरु कार्यान्वयनमा रहेको बताए।कार्यक्रममा शारदा माध्यमिक विद्यालयका प्राधानाध्यापक जीत बहादुर थापा, एमाले कुर्घा गाउँ कमिटीका उपाध्यक्ष उमाकान्त शर्मा, काँग्रसका वडा सभापति मेघराज उपाध्याय, माओवादी वडा कमिटीका अध्यक्ष हरिप्रसाद पाध्या, समाजसेवी अमर बहादुर क्षेत्री, टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, हराभरा महिला सहकारी संस्थाकी अध्यक्ष शोभा कुमारी क्षेत्री लगायतले पनि बोलेका थिए।वडा सचिव जय बहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्त्ब्य वडा सदस्य सुनिता शर्माले राखेकी थिईन। वडाध्यक्ष शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

ताजा

Related Articles