23.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतको विहादी गाउँपालिकामा नवनिर्मित सुबिधायुक्त भवनबाट सेवा शुभारम्भ!

पर्वत/पर्वतको विहादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरी नयाँ भवनबाट प्रशासनिक सेवा शुभारम्भ गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नव निर्मित उक्त भवनको मंगलबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै तिमिल्सिनाले पालिकाको सिहंदरबार आफ्नै कार्यकालमा खडा गरेकोमा जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्दै स्थानियवासी पनि बधाईको पात्र बनेको बताउनुभयो । लोकतन्त्रको स्थानीयस्तर देखी नै संस्थागत विकास गर्न र स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्नु स्थानिय सरकारको काम भएको बताउदै शासन व्यवस्थापनमा जनताको सहभागितालाई व्यापक बनाउँदै लौजानुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् संविधान सभा सदस्य विकास लम्सालले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरी गाउँको सिहंदरबार खडा गरेकोमा जनप्रतिनिधिहरुको प्रशंसा गर्नुभयो । जनप्रतिनिधिको पाँच बर्षे कार्यकालमा प्रशासनिक भवन निर्माण नगरेको वर्तमान अवस्थामा विहादीबाट अन्य स्थानिय तहले सिको गर्नुपर्ने उहाँको भनाइ थियो ।
सुबिधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने बिहादि गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले बताउनुभयो । आफ्नो पाँच बर्षे कार्यकालमा प्रशासनिक भवनको काम सकेर नयाँ कार्यालय सर्न पाउदा आफुलाई निकै खुसी लागेको भुसालले बताउनुभयो । पालिकाको विकास र समृद्धिको लागि भौतिक संरचानासँगै शिक्षा, स्वास्थ्य, सडक, कृषि,पर्यटन,रोजगार लगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरु भएको भुसालले बताउनुभयो ।गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्न स्थानियवासीले जग्गा दान गर्नुभएको थियो ।
भवन निर्माण कार्य २०७७ साल जेठ मा सुरु भई २०७८ माघमा सम्पन्न भएको थियो । भवन निर्माणको  लागि ३ करोड १५ लाख ५५ हजार ८ सय रुपैयाँ  धुलिखेल निर्माण सेवालाई जिम्मा दिईएको र समयमै निर्माण कार्य सम्पन्न भएको विहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्र दयालले जानकारी दिनुभयो ।
३ तलाको प्रशासनिक भवनमा २१ ओटा कोठा रहेका छन् भने प्रशासनिक भवन नजिकै वहुद्देश्य सभा हल र कर्मचारी आवास पनि निर्माण गरिएको छ । प्रशासनिक भवन भूकम्प प्रतिरोधी, अपांगमैत्री र वातावरणमैत्री हुने गरी निर्माण गरिएको दयालले बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्याल, प्रमुख जिल्ला अधिकारी देबी कुमारी पाण्डे खत्री, मोदि गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पौडेल, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी , लगायत सम्पूर्ण वडा कार्यालयका अध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न पार्टीका प्रमुख , विभिन्न संघसंस्थाका प्रमुख ,पत्रकार,सुरक्षाकर्मि लगायतको  उपस्थिति रहेको थियो ।
बिहादी गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । वडा नं.२ बर्राचौर,वडा नंं ३ रानीपानी र वडा नं. ६ शालिग्रामको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं १ बाच्छा र वडा नं. ४ वहाकी वडा कार्यालयको प्रशासनिक भवन निर्माणाधिन छ भने वडा नं. ५ उरामपोखराको वडा कार्यालय भने यस अघिनै बनिसकेको बताइएको छ ।

ताजा

Related Articles