28.1 C
Kathmandu
Monday, July 15, 2024

बाग्लुङमा चिया खेती फट्याउदै!

बाग्लुङ/बागलुङको माटोमा चियाखेती हुन थालेको धेरै भएको छैन । पाँच वर्षअघि पहिलोपटक ताराखोला गाउँपालिका-१ अमरभूमिमा ‘गोल्डेन टी स्टेट’ कम्पनीले चियाखेती सुरु गरेको थियो ।

त्यसयता अरु केही ठाउँमा चियाखेती विस्तार भएको छ । अमर भूमिपछि धेरै चिया लगाइएको ठाउँ हो काठेखोला गाउँपालिका-७ रेश । रेशको तिङरिङ र बौरमा गरी ७६ रोपनी जग्गामा अहिले चिया फस्टाइरहेको छ ।

चार वर्षअघि त्यहाँ लगाइएको चियाको मुना टिप्न योग्य भएको छ । चियाखेती प्रवद्र्धन गरिरहेको रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले सुरुको वर्ष लगाइएको चिया वैशाखमा टिप्ने तयारी भएको बताए ।

‘सानो क्षमताको प्रशोधन यन्त्र ल्याउँदैछौँ, अब चियाको व्यावसायिक उत्पादन र बिक्री सुरु हुन्छ’, उनले भने, ‘चियाको नर्सरी पनि यहीँ तयार गर्दैछौँ, तीन लाख बिरुवा उत्पादन गर्ने लक्ष्य छ।’ तिङरिङमा दुई र बौरमा दुई गरी अहिले चार ‘प्लट’मा चियाखेती छ । बौरको सार्वजनिक जग्गा हो भने तिङरिङको जग्गा विद्यालयको ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले विद्यालयको ३७ रोपनी जग्गामा चियाखेती गरिएको बताए । ‘चार वर्षअघि लगाएको चियाले अब उत्पादन दिने चरणमा छ, विद्यालयको थप ६७ रोपनी जग्गामा चियाखेती विस्तार गर्ने योजना छ’, उनले भने । चियामा मलको जोहोदेखि, गोडमेल र रेखदेखमा विद्यालयका शिक्षक र विद्यार्थीसम्म खट्छन् ।

विद्यार्थीले चिया बगानमा अभ्यासमूलक सिकाइको मौका पनि पाएका छन् । वडाध्यक्ष प्रेम लामिछानेले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमको बजेट चियाखेतीमा लगाइएको बताए । उनका अनुसार हालसम्म रु ५० लाखभन्दा बढी चियाखेतीमा खर्च भएको छ ।

चालू आवमा छुट्टिएको रु नौ लाख ५० हजार प्रशोधन यन्त्र र नर्सरीमा खर्च गरिने भएको छ । आफ्नै नर्सरी नहुँदा यसअघि टाढाबाट चियाका बिरुवा ल्याउनुपर्ने बाध्यता थियो। ‘बाहिरबाट ल्याउँदा ढुवानी महँगो पर्ने, बिरुवा मर्ने डर हुन्थ्यो, अब आफ्नै नर्सरी भएपछि त्यो समस्या हट्छ, अरु व्यावसायिक किसानलाई पनि सहुलियत दरमा बेच्न सकिन्छ”, वडाध्यक्ष लामिछानेले भने ।

उनले चिया खेतीबाट स्थानीय किसानको जीवनस्तर उकासिनुका साथै र रोजगारी सिर्जना हुने बताए । चियाको बगानले रेशको पर्यटकीय आकर्षण पनि थप्ने विश्वास लिइएको छ । रेशका दुवै ठाउँमा गरी अहिले ८० हजार चियाका बोट हुर्किरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ ।

चिया विज्ञ निर्मल घिमिरेलगायतले नर्सरी र बगान व्यवस्थापनबारे स्थानीय किसानलाई सघाउँदै आउनुभएको छ । कृषि ज्ञान केन्द्रले पनि प्राविधिक सहयोग गर्दै आएको छ । ज्ञान केन्द्रका प्रमुख भानु भट्टराईले बागलुङमा चियाको खेतीको सम्भावना देखिए पनि उत्पादन हेरेर मात्र थप भन्न सकिने बताए ।

‘अहिले केही ठाउँमा चियाखेती भइरहेको छ, किसान विस्तार गर्ने सोचमा पनि हुनुहुन्छ’, उनले भने, ‘बोटको हुर्कने, बढ्ने प्रक्रिया र उत्पादन पनि राम्रो भयो भने बल्ल चियाखेती व्यावसायिकरूपमा सफल भएको मान्नुपर्ने हुन्छ ।’

प्रमुख भट्टराईले यहाँको भूबनोट, हावापानी र बगानको अवस्था हेर्दा चियाखेती सफल हुने देखिएको बताए । ‘यो एक हिसाबले चियाको परीक्षण खेती पनि हो, अब उत्पादन लिने बेला भएको छ, हेरौँ फल कस्तो आउँछ’, उनले भने, ‘रेशभन्दा पहिला अमरभूमिमा उत्पादन भएको चिया बाहिर आउँदैछ ।’

अमरभूमिमा ५०० रोपनीमा चियाखेती विस्तार हुन लागेको ज्ञान केन्द्रले जनाएको छ । उपकरणलगायतमा त्यहाँको चिया कम्पनीले सरकारी अनुदान पनि प्राप्त गरेको प्रमुख भट्टराईले बताए ।

उनले चिया जति धेरै उत्पादन भए पनि बजारको भने अभाव नरहेको उल्लेख गरे । एक हजार ८०० देखि २२ सय मिटर उचाइमा चिया हुन्छ । चियालाई १२ देखि २९ डिग्रीसम्म तापक्रम भएको ओसिलो र भिरालो जग्गा चाहिन्छ ।

बागलुङ नगरपालिका-८ सिगाना, १० भकुण्डे, काठेखोला गाउँपालिका–३ धम्जालगायतका ठाउँमा पनि चियाखेती सुरु गरिएको छ । सिगानामा चिया लगाउनुपूर्व नगरपालिकाले नै सम्भाव्यता अध्ययन गरेको थियो । रासस

ताजा

Related Articles