पर्वत/ पर्वतको महाशिला गाउँपालिकाले पालिकाभित्र विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७७ जनालाई सम्मान गरेको छ । सोमबार सम्मान कार्यक्रमसँगै गाउँपालिकाको आयोजनामा चार कार्यक्रम सम्पन्न भएका छन् ।
गाउँपालिकाको आयोजनामा चिसापानी पदमार्ग उद्घाटन, स्थानीय महेन्द्रज्योती माविमा बनेको आईसिटी कक्षा र महाशिला आधारभूत अस्पताल सेवाको शुभारम्भ गरिएको हो । चारवटै संयुक्त कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । उद्घाटनपछि आयोजित समारोहलाई सम्वोधन गर्दै ग्रामीण क्षेत्रको विकास र समृद्धिबाट नै समग्र मुलुकको समृद्धि हुने बताउनुभएको छ । हामीले गाउँमै सवै नागरिकका सवै आवश्यकताहरु उपलव्ध गराउन सकेमा बढ्दो पलायनदर न्यूनिकरण हुँदै जाने बताउँदै गाउँको समृद्धि र विकासमा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिंचाई लगायतका अत्यावश्यक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा उहाँको जोड रहेको छ
अर्को प्रसंगमा आवधिक निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ । लोकतन्त्र बलियो बनाउनका लागि आवधिक निर्वाचन हुनुपर्ने बताउँदै नागरिकले स्वतन्त्र र निर्भयका साथ मतदान गर्न सक्ने बातावरण बनाउनुपर्ने उहाँको भनाई रहेको थियो । उहाँले आउँदो स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभएको छ ।
कृषि क्षेत्रलाई व्यावसायिक बनाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले कृषकलाई कसरी कृषि पेशावाटै आत्मनिर्भर बनाउन सकिन्छ भन्ने तर्फ स्थानीय सरकारका योजना केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कर्मचारी, स्वास्थ्यकमीृ, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन, शिक्षक, प्रद्यानाध्यापक, अभिभावक, अगुवा तथा नमुना कृषक गरी ७७ जनालाई सम्ममान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित बयोबृद्ध लोकबहादुर नेपाली, जिल्ला समन्वय समितिका सदस्य विष्णुराम विक, वडा अध्यक्ष इश्वरीप्रसाद भुसाल, एमाले नेता टिकु मल्ल ठकुरी, प्रद्यानाध्यापकहरुको तर्फवाट सुर्य माविका प्रअ केशव भण्डारी लगायतले बोल्नुभएको थियो ।गाउँपालिकाका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रमुख प्रशासकिय अधिकृत हरि पराजुली र संचालन प्रवक्ता जीवन विक्रम उच्चैले गर्नुभएको थियो ।
महाशिलामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७७ जनालाई सम्मान गरियो!

