लक्ष्मण विश्वकर्मा/पर्वतको फलेवास नगरपालिकामा टाइफाइड रोग विरुद्ध खोप अभियान सम्बन्धि नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम मंगलबार सम्पन्न भएको हो । फलेवास नगरपालिकाका सबै वडामा पनि यहीँ चैत २५ गतेबाट १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई खोप लगाउने अभियान सुरु गरिने स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले जानकारी दिनुभयो ।
खोप सम्बन्धि नगरको समग्र योजना तथा लक्ष्य अनुसार प्रगति हासिल गर्ने योजना तर्जुमा गरिएको उहाँले बताउनुभयो । खोप सुरक्षित रहेको र लगाउनुपर्ने आवश्यक भएकाले लक्षित उमेरका सबै बालबालिकाहरुले अनिवार्य खोप लगाउनुपर्नेमा सापकोटाले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले टाइफाइड रोगबाट बच्नका लागि सबै बालबालिकाले खोप लगाउन आग्रह गर्नुभयो । सम्बन्धित सबै सरोकारवालाहरुले खोप अभियानलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । फलेवास नगर अस्पतालका प्रमुख डा. ध्रुव कुमार क्षेत्रीले खोप अभियानका बारेमा जानकारी गराउनुभएको थियोे । कार्यक्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, नगरका शाखा प्रमुखहरु, स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्य आमा समुह लगायतको उपस्थिति रहेको थियो । सामाजिक विकास समिति अध्यक्ष तथा वडा नं. ९ का वडा अध्यक्ष गंगाधर शर्माको अध्यक्षता, नगर शिक्षा अधिकारी कृष्ण आचार्यको स्वागत मन्तव्य र स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
फलेवासमा टाइफाइड रोग विरुद्ध खोप अभियान सम्बन्धि नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

