पर्वत /१५ शय्या क्षमताबाट सेवा दिँदै आएको पर्वत अस्पतालले ५० शय्या क्षमताको भवनबाट सेवा दिने भएको छ। अस्पतालको नयाँ भवनबाट तत्काल सेवा दिने तयारी भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए।
‘अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा शय्याको अभाव भएपछि काम पूरा भएका भवनमा केही सेवालाई सार्ने तयारी गरेका छौँ,’ गिरीले भने, ‘अहिले सुरुमा मुख्य भवनमा ओपिडी सेवा सार्ने तथा भर्ना भएर बस्नुपर्ने बिरामीहरूलाई पनि नयाँ भवनमा नै राखेर भर्ना गर्ने तयारी गरिएको छ।’
अहिलेको ओपिडी सेवा प्रदान भइरहेको भवनसँगै जोडिएको वार्डमा बिरामी भरिएपछि कोभिड–१९ का लागि आइसोलेसनका रूपमा प्रयोग गरिएको पुरानो भण्डारण कक्षमा समेत शय्याहरू राखेर बिरामी भर्ना गरिएको छ। शल्यक्रियामार्फत सुत्केरी गराउनेको संख्या बढ्दै गएकाले ओपिडीसँग जोडिएको भवनमा सुत्केरी गरिएका तथा अन्य शल्यक्रिया गरिएका बिरामीहरू पूर्ण क्षमतामा राख्दा पनि शय्याको अभाव भएकाले नयाँ भवनलाई तत्काल प्रयोगमा ल्याउन लागिएको अध्यक्ष गिरीले बताए। नयाँ भवनमा शय्या र अन्य सुविधा जडानको काम भइरहेको छ।
निर्माण पूरा भएका ए, बी र सी ब्लक भवनलाई सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले अस्पताललाई हस्तान्तरण गरिसकेको अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायले जानकारी दिए। भवन लिफ्टको सुविधासहित अपाङ्गता तथा बिरामीमैत्री रहेको उपाध्ययले बताए।
ए, बी, सी, डी र ई ब्लकका भवनमध्ये ए, बी र सी को काम पूरा भएको भए पनि डी र ई को काम भने निर्माणकै अवस्थामा रहेको छ। डी र इ ब्लकका भवन बन्दै गरेको ठाउँको जमिन भासिएर भवन नै जोखिममा परेपछि भवनका माथिल्ला तला निर्माणको काम रोकेर भुइँ तलामा नै निर्माण गरिएको छ।थाहाखबर

