28.1 C
Kathmandu
Monday, July 15, 2024

महाशिलामा गठबन्धनकाे पहिलो बैठक सम्पन्न, साझा उमेदवार बनाउने तयारी।

पर्वत/पर्वतको महाशिला गाउँपालिकामा सत्तारुढ गठबन्धनकाे पालिका स्तरीय पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार वडा नं. ५ लुंखुदेउराली स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा ३ दलका प्रमुख नेताहरूको उपस्थितमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रको निर्णय अनुसार पालिकामा पनि साझा उमेदवार बनाएर चुनावमा भाग लिने निर्णय भएको छ ।
गठबन्धनका सबै पार्टीले एउटै धारण र विचार बनाएर साझा उमेदवार बनाएर चुनावमा जाने नेपाली काँग्रेस महाशिलाका सभापति कृष्ण गुरुङ उज्ज्वलले बताउनुभयो । सबै दलको अपनत्व र अस्तित्व रहने गरि निर्विरोध साझा उमेदवार बनाउने र उनिहरुलाई जिताउन सबैले एकमन एकमत बनाएर लाग्नुपर्ने बताउनुभयो । व्यक्तिवादी प्रवृत्ति, घमण्ड, अहंकार, नाताबाद र कृपावादको विरुद्ध चुनावी गठबन्धन गर्नुपरेको नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव विराज हमालले बताउनुभयो । समय परिस्थितिलाई बुझेर नागरिकहरु सचेत भएर गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गर्नुभयो । देश, संबिधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै यो चुनावमा नेपाली जनताले गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । जनतामाझ पुग्दा गठबन्धनबाट साझा चुनावी नारा बनाएर प्रचारप्रसारमा जुट्नुपर्ने बताउनुभयो । त्यस्तै चुनावी गतिविधि सहज तथा प्रभावकारी तरिकाले संचालन गर्नका लागि लुंखु एकपाटेमा बैशाख ४ गते साझा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने हमालले बताउनुभयो ।
गठबन्धनको मर्म र आवश्यकता बुझाउदै गठबन्धनका सबै साझा उमेदवारलाई जिताउन चुनाव चिन्हका बारेमा जनतालाई मतदाता शिक्षा दिनुपर्ने नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज खरिलाल पौडेलले बताउनुभयो । फरकफरक चुनाव चिन्हमा मत दिनुपर्ने भएको हुँदा मत दिदा सहज होस् भनेर मतदातालाई सहि ठाँउमा मतदान गर्न आह्वान गर्दै मतदाता शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । बैठकमा नेपाली काँग्रेस महाशिलाका सभापति कृष्ण गुरुङ(उज्ज्वल), सचिव द्रोणराज पौडेल, नेकपा माओवादी महाशिलाका सचिव क्षेत्र बहादुर क्षेत्री, नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव बिराज हमाल, जिल्ला कमिटी सदस्यहरु लक्ष्मण विश्वकर्मा र सन्तोष सुनाम लगायतको उपस्थिति रहेको थियो ।नेपाली काँग्रेसको पालिका समिति कार्यालयमा कांग्रेस महाशिला सभापति कृष्ण गुरूङ उज्जवलकाे अध्यक्षतामा बैठक बसेको थियो ।

ताजा

Related Articles