29.1 C
Kathmandu
Friday, July 19, 2024

आजबाट एसईइ सुरु,पर्वतबाट २ हजार ३ सय ४४ बिद्यार्थीहरु सहभागी!

पर्वत/आजबाट सुरु भएको माध्यमिक शिक्षा परिक्षा  एसइइमा पर्वतबाट २ हजार ३ सय ४४ जना परीक्षार्थीहरु परिक्षामा सहभागी भएका छन् । नियमित तर्फका २ हजार २ सय ८३ जना, स्तर वृद्धिका २ हजार ८ जना र प्राविधिक विषयतर्फका ३३ जना सहभागी हुने भएका हुन् । जिल्ला विकास तथा समन्वय ईकाईले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लाका सात ओटै स्थानीय तहमा रहने १९ ओटै परीक्षा केन्द्रमा सबै तयारी पूरा भएको जानकारी दिए । सम्मेलनमा बोल्दै समन्वय इकाई प्रमुख रामेश्वर लामिछानेले उत्तरपुस्तिकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेको र प्रश्नपत्रहरु परीक्षा केन्द्रको पायकको स्थानमा रहेको प्रहरी चौकीको सुरक्षामा राखिएको बताए  । शुक्रवार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको लागि १९ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष, एक सय १८ जना निरीक्षक, २४ जना परीक्षा सहायक, ४६ जना कार्यालय सहयोगी तथा सुरक्षाको लागि कम्तीमा पनि एक सय जना प्रहरीहरुको व्यवस्थापन गरिसकिएको छ ।इकाई प्रमुख लामिछानेका अनुसार गत वैशाख ५ मा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट १९ ओटा केन्द्र राख्ने निर्णय भएको र केन्द्राध्यक्षको रुपमा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापकलाई नै राख्ने निर्णय भए अनुसार नै केन्द्राध्यक्षको व्यवस्थापन गरिएको हो । यस वर्षको एसईई परीक्षामा जलजला गाउँपालिकामा दुई ओटा, कुश्मा नगरपालिकामा छ ओटा, फलेवास नगरपालिकामा तीन ओटा, बिहादी गाउँपालिकामा दुई ओटा, पैयूँ गाउँपालिकामा दुई ओटा, मोदी गाउँपालिकामा दुई ओटा र महाशिला गाउँपालिकामा दुई ओटा केन्द्रहरु रहेका छन् । ती ती केन्द्रहरुमा जिल्लाका ८० ओटा सामुदायिक र १२ ओटा संस्थागत विद्यालयका विद्यार्थीहरु रहेका छन् । नियमित परीक्षार्थी अन्तर्गत खुल्ला विद्यालय अन्तर्गत शिवालय माध्यमिक विद्यालय कुश्माबाट १० जना सहभागी हुन लागेको पनि ईकाई प्रमुख लामिछानेले जानकारी दिएका छन् । परीक्षाको स्थानीय तहको शिक्षा शाखा, राष्ट्रिय परीक्षा बोर्ड, जिल्ला परीक्षा समन्वय समिति, सामाजिक विकास कार्यालय, निर्देशनालय, समन्वय इकाई लगायतका पर्यवेक्षकहरुबाट अनुगमनको व्यवस्था गरिएको छ ।

एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् भने सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार परीक्षार्थी छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी रहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ ।

ताजा

Related Articles