12.1 C
Kathmandu
Saturday, February 7, 2026

पर्वतको पैयुँमा पशुका लागि स्वास्थ्य शिविर सम्पन्न

पर्वत- पर्वतको पैयुँ गाउँपालिकामा पशुहरूको लागि पनि स्वास्थ्य शिविरको आयोजना गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका–१ टकलाकको समन्वयमा पशुहरूमा रहेको बाँझोपनको समस्या हल गर्ने, विभिन्न रोगहरूको जाँच, औषधि उपचार र औषधि वितरण सेवा सहितको पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो।

कृषकहरूले लगानी गरेर पशुपालन गर्दै आएको भए पनि ती पशुको स्वास्थ्य परीक्षण नहुँदा तथा बिरामी हुँदा पनि घरायसी उपचारमा अल्झिएर क्षति खेप्नुपरिरहेको अवस्था अन्त्य गर्ने प्रयास स्वरूप पशुको स्वास्थ्य शिविरको आयोजना गरिएको वडाध्यक्ष मीन प्रसाद न्यौपानेले बताए।

‘पशुहरूको लागि पनि स्वास्थ्य शिविर भन्दा मान्छेलाई फरक अनुभूति हुन सक्छ। तर मानिसको स्वास्थ्यको ख्याल जति गरिन्छ, पशुको लागि पनि उत्तिकै हुनुपर्छ। पशुपंक्षीले उत्पादन गरेका वा तिनैलाई हामीले खाना मान्छौँ, अनि त्यही खाना स्वस्थ हुन आवश्यक छैन र?’ उनले भने, ‘अर्को कुरा कति लगानी गरेर भैँसी किनेको हुन्छ तर ब्याउँदैन, तुहिन्छ, अन्य समस्या देखा पर्छन्। खसीबोका पालेको हुन्छ, रोग लागेर मर्छ। कम्तीमा पनि सामान्य अवस्थामा नै पशुको उपचार गरिनुपर्छ भन्ने सन्देश पनि हो।’

उक्त शिविरमा टकलाकका १२७ कृषकका ३५० भन्दा बढी चौपायाहरूका लागि औषधिहरू वितरण गरिएको छ। सामान्य बिरामी रहेका पशुहरूलाई लक्षणको आधारमा शिविरबाट औषधि वितरण गर्नुका साथै परामर्श गरिएको भए पनि स्वास्थ्यमा बढी समस्या रहेको पशुको गोठमा नै पुगेर परीक्षण गरिएको छ।

भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले व्यावसायिक रूपमा पशुपालन गरिरहेका कृषकहरूले पशु विज्ञको सल्लाह बमोजिम पशुको औषधोपचार गर्ने गरेको भए पनि निर्वाहको लागि मात्रै पशुपालन गरेका कृषकहरूले पनि यसमा चासो दिनुपर्ने बताए।

उत्पादनलाई बढावा दिने खालका प्रविधिको प्रयोग तथा सोही अनुसारको पोषण मात्रा पूरा गरेमा कृषकको आम्दानी बढ्ने भएका कारण पशुको स्वास्थ्यमा चासो दिँदै पशु स्वास्थ्यमा आधुनिक विधिको प्रयोग गरिनुपर्ने पौडेलको सुझाव छ।

ताजा

Related Articles