लक्ष्मण विश्वकर्मा,पर्वत-पर्वतको कुश्मामा पशु चौपायामा पुर्ण खोप सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा कुश्मा नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले पशु चौपायालाई लाग्ने रोगबाट बचाउ अनिवार्य खोप लगाउन आग्रह गर्नुभयो । त्यस्तै पशुपक्षीको क्षतिबाट हुने नोक्सानी तथा जोखिम बहनका लागि पशु विमा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका रामकृष्ण सुवेदीले पशु चौपायामा लाग्ने रोगको नियन्त्रणका लागि पर्वतमा खोप अभियान संचालन गरिएको बताउनुभयो । अघिल्लो बर्ष कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा खोप कार्यक्रम संचालन गरिएको यो बर्ष कुश्मा र मोदीसँगै फलेवास नगरपालिका,जलजला गाउँपालिका र बिहादी गाउँपालिकामा खोप अभियान संचालन गरिने उहाँले बताउनुभयो । खोप अभियानलाई प्रभावकारी बनाउन वडाका जनप्रतिनिधि, वडा सचिव तथा सम्बन्धित सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उक्त कार्यक्रममा भेटेरीनरी अस्पतात तथा पशु सेवा विज्ञ केन्द्रको आ.व. २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गत वर्ष देखि नै संचालन गरिदै आएको पशु चौपायामा खोप कार्यक्रम यसवर्ष पनि निरन्तरता दिने निर्णय भएको कार्यालयका सन्तोष परियारले जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई प्रभावरी रुपमा संचालनका लागि नगरपालिका, जनप्रतिनिधि, पशु सेवा शाखा र सरोकारवाला निकाय कृषकसबैले आ- आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।