पर्वत-चाडपर्वका बेला हुन सक्ने महंगी, कालोबजारी र अखाद्य बस्तुको विक्री वितरण रोक्ने उद्देश्यले पर्वतमा निरन्तर बजार अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा शुक्रबार कुश्मा बजारमा अनुगमन गरिएको हो । कुश्मा बजारको मेलमिलाप चोक, बगैंचा चोक, मेनरोड, बन्जी साइड र बडागाउँमा रहेका खाद्यान्न, तरकारी तथा मासु पसलहरुको अनुगमन गरिएको छ । खाद्य स्वच्छता कायम गर्नका लागि बजार अनुगमन कार्यलाई निरन्तरता दिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले बताउनुभयो । नियमित बजार अनुगमनले व्यवसायीहरु सजग भएको र पछिल्लो समय अनुगमन कार्य प्रभावकारी भएको उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो ” जिल्लाका बिभिन्न ठाउँमा महिनाको एकपटक र आवश्यकता अनुसार नियमित छड्के अनुगमन गरेका छौं,यस कार्यले व्यवसायीहरु सहज भएका छन् ।” सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको उहाँको भनाई छ । बजारबाट गाउँका किराना पसलमा सामान पठाउदा उपभोग्य मिति हेरेर मात्र पठाउनुपर्ने र उपभोक्ताले पनि आफुले किन्ने सामनाको मुल्यसुची र उपभोग्य मिति हेरेर मात्र समान किन्नुपर्नेमा उहाँले जोड दिनुभयो।
अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ । पर्वतमा रङ मिसाएर सामना उत्पादन गर्न रोक लगाइएको छ । रङ मिसिएका तथा मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुने बताइएको छ ।
पसल दर्ता,नविबरण,मुल्यसुचि, बस्तुको उपभोग्य मिति, सरसफाइ लगाएतको अनुगमन गरिएको थियो। अनुगमन टोलि पसल पसल आएकोमा सचेत र सजग भएको भन्दै आगामी दिनमा म्याद सकिएका तथा अखाद्य बस्तु बिक्री नगर्ने र दर्ता नभएका पसल दर्ता गरिने व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पर्यटन तथा उद्योग कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय, कर दाता सेवा कार्यालय पर्वत, उद्योग बाणिज्य संघ, कुश्मा नगरपालिका,उपभोक्ता हित संरक्षण मंच, प्रहरी र पत्रकारको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।