पर्वत महोत्सवमा कृषि उपज बजारीकरणमा कृषि ज्ञान केन्द्रको जोड!

164

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ ११ देखि २१ गतेसम्म पर्वत सदरमुकाम कुश्मामा गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला एवम् ७ औं पर्वत महोत्सव संचालन हुँदैछ । उक्त महोत्सवमा पर्वतका कृषक र कृषि उद्यमीहरुले आफ्नो उत्पादन, प्रशोधन तथा पहिचान झल्काउने कृषि सामाग्रीहरु प्रदर्शन तथा बिक्री वितरण गर्ने भएका छन् । महोत्सवमा आयोजकसँग ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराइदिन पहल गरेको र कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुहरुको बजारीकरणमा जोड दिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो । जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा मोदी र जलजला गाउँपालिकाबाट १२ ओटा कृषि फर्म तथा उद्योगले स्टल राख्न निश्चित गरेको र अन्य कृषकहरुलाई पनि स्टल राख्न अनुरोध गरेको उहाँले बताउनुभयो ।  कृषकहरूलाई प्रोत्साहन र हौसला प्रदान गर्दै उत्पादनको बजारीकरण गर्नको लागि सहयोग गरिएको थापाले बताउनुभयो । महोत्सवमा कृषकहरूले मौसम अनुसारका फलफुल, सुन्तला किबि, मौरीजन्य सामाग्री मह, कफी, चिया लगायत प्रशोधित र ताजा कृषि उपज तथा  मसलाजन्य सामाग्री बिक्रि गर्ने भएका छन् ।त्यस्तै  पोख्रेली जेठो बुढो ब्राउन राइस, लप्सी,अदुवा पोषिलो खाना, कोदो, च्याउ, केराको म:म छोयला, चिप्स लगायत दुधका परिकार बिक्री गर्नेछन् । ग्रामीण भेगका कृषकहरुले उत्पादन गरेको कृषि उपज सामाग्री महोत्सवमा ल्याई बिक्री गर्न समस्य र चुनौती भएको कृषि ज्ञान केन्द्रका प्रमुख थापाको भनाइ छ । आफुले उत्पादन गरेको कृषि उपज बिक्रि गर्न पाउने भएपछि कृषकहरू खुसी भएका छन् । महोत्सवमा लप्सीको क्यान्डी, अचार, पाउडर, झोल अमिलो, अमलाको अचार र क्यान्डी, पोषलो खाजा, जेठो बूढो चामाल मकैको आटो, अलैंची, सुकाएको काउली लगायतका बस्तुहरु बिक्रीका लागि तयार गरिएको सामुदायिक खाद्य प्रशोधन उद्योगका संचालक थानेश्वर भुसालले बताउनुभयो । स्टल बुकिङ गरि आफुले उत्पादन गरेका सामाग्री बिक्री गर्न  सहयोग गरेकोमा कृषि ज्ञान केन्द्र र पर्वत उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गर्नुभयो । पर्वतमा १५ सय भन्दा बढी कृषि फर्म र १ सय भन्दा बढी कृषि सहकारी रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले कृषि,पर्यटन,उद्योग व्यापारको विकास र प्रवर्द्धनका लागि पर्वतका व्यवसायीलाई स्टलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरणलाई मुख्य प्राथमिकता दिएको बताउदै स्टलको अवस्था हेरेर पुर्ण छुटको व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो । महोत्सवको सम्पुर्ण तयारी लगभग पुरा भएको बताउदै महोत्सवलाई सफल पार्नको लागि सबैको साथ र सहयोग आवश्यक भएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here