12.1 C
Kathmandu
Sunday, February 8, 2026

पर्वत महोत्सवमा स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन (फोटो फिचर)

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा कुश्मामा बुधबारदेखि संचालित सातौं पर्वत महोत्सवमा जिल्लाका विभिन्न ठाउँमा उत्पादित बस्तुहरुको बिक्री तथा प्रदर्शन गरिएको छ । महोत्सवमा स्थानिय अर्गानिक उत्पादन, कृषि उपज, लघु,घरेलु तथा साना उद्यमीद्धारा उत्पादित बस्तुहरु बिक्रीका लागि राखिएको छ ।

फलेवास नगरपालिका ४ मुढिकुवाका धानेश्वर भुषालले लप्सी अचार,बेसार,मकैको पिठो,जेठोबुढो चामल,पोसिलो खाजा सातु लगायतका अर्गानिक उत्पादन महोत्सवमा बिक्रीका लागि राखेका छन् । सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आइरहेका भुषालले महोत्सवमा राम्रो प्रचारप्रसार र बिक्री हुने अपेक्षा रहेको बताए । उनले भने, ‘हाम्रो राम्रो उत्पादन छ बिक्री त हुन्छ नै हामीले स्वदेशमा मात्र होइन विदेशमा पनि निर्यात गरेका छौ ।’

यस्तै, जलजला १ बासखर्कका गंगा पाइजा र मञ्जु फगामीले स्थानिय सुन्तला बिक्री गरिहेका छन् । उनीहरुले राखेका सन्तुला मज्जाले बिक्री भइरहेको छ । ‘बासखर्कको सुन्तला भने पछि महोत्सवमा आएका दर्शक हुरुक्कै भएर किन्छन्’, गंगा पाइजाले भनिन । बासखर्क सुन्तला उत्पादनमा प्रख्यात ठाउँ मानिन्छ ।

महोत्सवमा मोदी गाउँपालिकाका चन्द्र रामदामले स्थानीय घरेलु तथा साना उद्योगीहरुद्धारा उत्पादित बस्तु अल्लो तथा ढाकाको कपडा, जुत्ता, कोट, ज्वारीकोट, साडी, सिस्नो धुलो, लप्सी तथा अदुवाको अचार, क्याण्डी लगायतका बस्तु बिक्रीका लागि राखेका छन् । जिल्लामा पहिलो पटक मोदी गाउँपालिकामा स्थानिय उत्पादनको बजारिकरणका लागि सञ्चालनमा आएको मोदी कोसेली घर मार्फत स्थानिय बस्तु बिक्री वितरण गरिहेका रामदामले मेला महोत्सवमा प्रदर्शन गर्नाले राम्रो प्रचारप्रसार हुने बताए । उनी महोत्सवमा स्थानिय उत्पादन बिक्री हुनेमा ढुक्क छन् ।

कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा महोत्सवमा कृषि उपजका लागि ३० वटा स्टल छुट्टाइएको छ । पर्वतको उद्योग, पर्यटन, कृषि, कला, संस्कृति र सम्भावनाको उजागर, प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्येश्य राखेर पर्वत उद्योग बाणिज्य संघको आयोजनामा सातौं पर्वत महोत्सव माघ २१ सम्म चल्ने छ ।

ताजा

Related Articles