मदरसामा छलफल:मुस्लिम समुदायका बालिकाहरूको शिक्षामा एन.सी.इ को चिन्ता

140

पर्वत – शिक्षा क्षेत्रका विभिन्न मुद्धामा बहस गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सी.इ) नेपालको आयोजनामा पर्वतमा रहेका मुस्लिम समुदायका बालिकाहरुको शिक्षाका विषयमा छलफल भएको छ ।
११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मुस्लिम समुदायका बालबालिकाहरुले धार्मिक शिक्षा लिने विद्यालय मदरसामा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी भएकाहरुले मुस्लिम समुदाय साधारण धारतर्फको शिक्षा आर्जनमा कमजोर रहेको बताएका छन्।
छलफलमा सहभागी एन.सी.इ.का केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडीले कुश्माको मस्जिदमा चल्दै आएको मदरसा पर्वतको गहना भए पनि ठाउँ अभावले मस्जिदमा नै मदरसा चलिरहनु दुःखद भएको बताए । पर्वतका मुस्लिम समुदायका विद्यार्थीहरू उच्च तहको अध्ययनमा पुग्न नसक्नु अर्को दुःखद पक्ष रहेको उनको भनाई छ।
‘यो मदरसा पर्वतको गहना हो। मदरसा चलाउने ठाउँ नभएर मस्जिदमा नै मदरसा चलिरहनु दुःखद छ। अर्को कुरा पर्वतका मुस्लिम समुदायका विद्यार्थीहरू उच्च तहको अध्ययनमा अझैसम्म किन पुग्न सकेनन? पहाडी भन्छन्, ‘कक्षा ११ र १२ सम्मको अवस्थालाई हेर्ने हो भने छात्र भन्दा छात्राहरूको सङ्ख्या धेरै देखिन्छ। तर १२ पास हुँदा नहुँदा ती छात्राहरू किन विद्यालय जाँदैनन? उनीहरू आफैले ब्याच्लर जोइन गर्न चाहेनन् की उनीहरूको घरको वातावरण मिलेन? की क्याम्पस वा विद्यालयमा समस्या भयो?’


मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गर्ने मदरसा पर्वत जिल्लाभर नै अहिलेसम्म स्थापना हुन सकेका छैनन्। सदरमुकाम कुश्मा बजारमा रहेको मस्जिदमा मदरसा सञ्चालन भएको भए पनि यो दर्ता समेत भएको छैन। तर आफूहरूलाई मदरसाको आवश्यकता रहेको गुनासो मुस्लिम समुदायले पटक पटक उठाउँदै आएको छ।
छलफलमा सहभागी भएका धेरैले एक त मुस्लिम समुदायका छात्रहरू समेत साधारण धारको शिक्षाको माथिल्लो तहसम्म जान नसकिरहेको अवस्थामा बालिकाहरूको अवस्था झनै समस्यामूलक रहेको बताए। कुश्मा नगर कार्यपालिकाका सदस्य लखन सुनारले समयको मदरसाको अभावमा समय व्यवस्थापनमा देखिएको कठिनाइले मदरसामा देखिने मध्येका ५० प्रतिशत बालबालिकाहरू साधारण धारतर्फका सामुदायिक विद्यालयमा औपचारिक शिक्षा लिन नसक्ने अवस्थामा रहनु दुःखद भएको बताए।


मस्जिद रहेको तथा मुस्लिम समुदाय रहेको कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्मा मुस्लिम समुदायका बालबालिकाहरू उच्च तहको शिक्षासम्म पुग्न नसक्नुले उनीहरू झनै पछाडि परिरहनु बताउँछन्। शिक्षाका माध्यमबाट आएको चेतनाले नै आफ्नो आवाज बुलन्द पार्ने, अधिकारको खोजी गर्ने तथा राज्यका निकायमा उपस्थित हुन सक्ने उनको भनाई छ।


कुश्मा बजारमा रहँदै आएका मुस्लिम समुदायले मदरसालाई छुट्टै स्थानमा राखेर विद्यालयको रूपमा सञ्चालन गर्न नपाउँदा समस्या भइरहेको बताउँछ। मदरसामा कार्यरत शिक्षकलाई तलब दिन समेत नसक्ने अवस्था रहँदा आफूहरूले चन्दा सङ्कलन गरेर भए पनि शिक्षकलाई थमौती गरिएको मदरसाका सचिव अस्गर अलि मियाँ बताउँछन्। आफूहरूको समस्या बुझ्नका लागि कोही नआएको राज्यले पनि समस्या नदेखेका कारण मुस्लिम समुदायका छात्र छात्राहरूको अध्ययन सफल नबनेको उनको भनाई छ।


मदरसालाई औपचारिक रूपमा सञ्चालन गर्नको लागि विद्यालय दर्ता गरेर कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै साधारण धारतर्फका विद्यालयहरूले पाएको जस्तै सुविधा मदरसाले पनि पाउने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ बताउँछन्। दर्तामा नै नरहेको मदरसालाई राज्यले विद्यालयका रूपमा नहेर्ने भएकाले अन्य विद्यालयले पाएको जस्तै शिक्षक दरबन्दी, विद्यार्थीको लागि खाजा, भौतिक पूर्वाधार लगायतका सुविधा दिन नसकिएको उनको भनाई छ।
‘समृद्धि र समानुपातिक विकासका लागि राज्यका हरेक समुदायले बराबर महत्त्व पाएको हुनुपर्छ। त्यसका लागि हामी तयार छौँ। तर मदरसा दर्ता नै नभएका कारण राज्यले उपलब्ध गराउँदै आएका सुविधा दिन सकिएको छैन। पहिले त मदरसा दर्ता भएको विद्यालय बन्नुपर्छ,’ गुरुङ भन्छन्, ‘तनहुँ र गोरखामा रहेका मदरसा उदाहरणीय छन्। साहसिक पर्यटनको गन्तव्य रहेको पर्वतलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न मदरसाको स्थान रहने छ।’ मदरसा सञ्चालनको लागि मुस्लिम समुदायले सार्वजनिक जग्गाको माग गर्दै आएको तर विद्यालय दर्ता नभएका कारण जग्गाको प्रक्रियाका लागि सम्बन्धित निकायमा निर्णय पठाउन नसकिएको उनको भनाई छ। मुस्लिम समुदायका बालबालिकाहरू औपचारिक शिक्षाको मूल धारमा नआउनु तथा आएकाहरूको पनि टिकाउ नहुँदा यो समुदाय पछाडि परिरहेको गुरुङ बताउँछन्।


एन.सी.इ पर्वतका संयोजक यज्ञप्रसाद शर्माले मुस्लिम समुदाय र त्यसमा पनि यो समुदायका छात्राहरूलाई शिक्षाका माध्यमबाट चेतना स्तरमा वृद्धि गरी उनीहरूको अवस्थामा सुधार ल्याउन आफूहरू लागिरहेको बताउँछन्। शिक्षाका माध्यमबाट चेतना स्तरमा आउने परिवर्तनले मात्रै उनीहरूले अधिकारको खोजी र कर्तव्यको पालनामा सफल हुने भएकाले मुस्लिम समुदाय अहिलेको अवस्थाबाट माथि उठ्न सक्ने उनको तर्क छ।
कार्यक्रममा मुस्लिम समुदायको तर्फबाट मदरसाका अध्यक्ष जलालुद्धिन मिया, शिक्षक मोहम्मद मुस्ताक अहमद, अभिभावक जुलेना बेगम लगायतले पनि मुस्लिम समुदायले भोग्दै आएको शैक्षिक समस्याका बारेमा बताएका थिए।

उक्त कार्यक्रमको सञ्चालन एन.सी.इ. पर्वतका सचिव आशिष पौडेलले गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here