28.1 C
Kathmandu
Monday, July 15, 2024

जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा अपाङ्ग व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान !

लक्ष्मण बिसि, पर्वत

५ चैत २०७९

जिल्ला प्रशासन कार्यालय पर्वतले अपाङ्गता भएका व्यक्तिलाई घरमा नै पुगेर नागरिकता प्रदान गरेको छ । कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ काउलेकी ४६ बर्षिय छलिमाया गुरुङलाई आज घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । गुरुङ बहुअपाङ्गता भएकोले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सक्ने अवस्था नभएको हुँदा घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । नागरिकता पाउने नेपाली नागरिकको अधिकार भएकाले उहाँको नेपाली पहिचानको लागि सबै कानुनी प्रक्रिया पुर्याएर नागरिकता दिएको उहाँले बताउनुभयो । छलिमाया गुरुङ मंगली गुरुङबाट २०३३ साल बैशाख २५ गते जन्म भएको तर बाबु पहिचान नखुलेको र आमाको नामबाट नागरिकता प्रदान गरिएको समेत बरालको भनाइ छ । अपांगता भएकी छलिमाया गुरुङ प्रशासनसम्म आउन सक्ने अवस्था नभएको जानकारी आएपछि सबै प्रक्रिया पूरा गरि घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत दिलिप सुवेदीले बताउनुभयो । सिफारिस, नाता प्रमाणित, मामा र ठुलिआमाको नागरिकता प्रमाणपत्र, वडा सर्जिमिन मुचुल्का, प्रहरी सर्जमिन मुचुल्का, प्रहरी सर्जमिन मुचुल्का र वडा अध्यक्ष लगायत स्थानीयबासीको थप सनखत गरिसेपछि नागरिकता प्रदान गरिएको सुवेदीले बताउनुभयो । जिल्लाभर कुनै ठाउँमा पुर्ण अपाङ्गता भएका व्यक्ति भए वडा कार्यालय तथा सम्बन्धित व्यक्तिका परिवारले जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएमा त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिने उहाँले बताउनुभयो । पुर्ण अपाङ्गता भएकी छलिमाया अहिले मामा र ठुलीआमाको संरक्षणमा रहनुभएको छ । ४६ बर्षको उमेरसम्म नागरिकता नपाएकी छलिमायाले नगरिकता पाउदा धेरै खुसी लागेको संरक्षक नन्दकुमारी गुरुङले बताउनुभयो । नागरिकता प्राप्त भएपछि छलिमायालाई सरकारी सेवा सुबिधा लिन सहज भएको वडा अध्यक्ष तेजप्रसाद उपाध्यायले बताउनुभयो । घरमै पुगेर नागरिकता प्रदान गरेकोमा जिल्ला प्रशासन कार्यालयको टोलीलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बरालसँगै प्रशासकीय अधिकृत दिलिप सुवेदी, नागरिकता फाटका सन्तोष थापा,तिलोचन अर्याल, वडा अध्यक्ष तेज प्रसाद उपाध्याय, वडा सदस्य महेन्द्र गुरुङ र पत्रकार लक्ष्मण विश्वकर्माको टोली घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

ताजा

Related Articles