सूचना तथा प्रविधि दिवसका अवसरमा क्यान पर्वतद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

942

पर्वत -‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसका अवसरमा पर्वतमा वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ पर्वत शाखा क्यान पर्वतको आयोजनामा उक्त कार्यक्रम मंगलबार कुश्माको जेसिस सभाहलमा सम्पन्न भएको हो ।
सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने शीर्षकमा भएको पालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालयका छात्रा निशा आचार्य प्रथम भएकी छन् भने नारायण मावि कुश्माका छात्रा सिम्रन शर्मा द्वीतिय भएकी छन् । त्यसैगरी विश्वज्योति मावि पकुवा कुश्माका शिवप्रसाद सुवेदीले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् भने पूर्णेश्वर मावि वितलवकी छात्रा दुर्गा कुमारी पुरी र जनक मावि पिपलटारीकी छात्रा हिमानी शर्माले सान्त्वना स्थान प्राप्त गरेका क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम, दिर्तिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार,२ हजार, १ हजार र ५/५ सय साथमा प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरभित्रका माध्यमिक विद्यालयहरुले सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले क्यान पर्वतले समयसापेक्ष कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्न र यस्तै उपलब्धी देखिने खालका कार्यक्रमहरु आयोजना गर्न क्यान पर्वतलाई सुझाव दिनुभयो  । उहाँले क्यान पर्वतले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा कुश्मा नगरपालिका सधैं सहयोग गर्न तत्पर रहेको बताउँदै सूचना प्रविधि दिवसको शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कुश्मा नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष ईश्वर गिरीले सूचना प्रविधि दिवसको शुभकामना व्यक्त गर्दै सूचना र प्रविधिको महत्वसँगै समयको महत्व समेत बुझ्न सबैलाई प्रेरणा मिलोस् भन्दै समयानुकल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सुरक्षित सूचना प्रविधिले मात्र सुशासन र समृद्ध नेपाल बन्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भूमिका क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, संस्थापक सदस्य किशोर सापकोटा र मोदी गाउँपालिकाका आईटी संयोजक दिपक शर्माले गर्नुभएको थियो ।
क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा स्वागत क्यान पर्वतका कोषाध्यक्ष मिलन पौडेल र संचालन सचिव भरत सापकोटाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here