बनौंमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न,कार्यक्रमका सहयोगी, कलाकार र खेलाडीलाई सम्मान!

156

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं ९, बनौंमा संचालित प्रथम वडा अध्यक्ष कप-२०८० को पाँचौ दिन विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय बनौको मुख्य आयोजना र बनौ युवा क्लब,आदर्श युवा क्लब र सरस्वती युवा क्लबको सह— आयोजनामा यहीँ बैशाख २२ देखि ३० गतेसम्म संचालित कार्यक्रममा मंगलबार सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कला, भाषा,सांस्कृतिक संरक्षण तथा खेलाडी र खेलकुदको विकास र प्रवर्द्धनमा जोड दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष गौ बहादुर पुनले बताउनुभयो । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्नका लागि आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम बहादुर जिसिले बनौंमा आयोजित कार्यक्रमले आफ्नो गाउँको चिनारी र खेलकुद, कला र सांस्कृतिकको विकासमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रमका सहयोगीहरु, कलाकार तथा खेलाडीहरुलाई सम्मान गरिएको छ । नबौं राष्ट्रिय खेलकुदमा बास्केटबलतर्फ गण्डकी प्रदेशबाट रजत र पर्वत जिल्लाबाट छनोट भइ स्वर्णपदक सहित बनौं युवा क्लबमा धेरै ट्रफी भित्र्याउन सफल खेलाडीहरुको हौसलाका लागि सम्मान गरिएको मेला आयोजक समितिका अध्यक्ष राजकुमार पुनले बताउनुभयो ।उक्त कार्यक्रममा बनौं युवा क्लब र दिपज्योती डान्स ग्रुप पोखराका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो भने बेलुकी शेरे ग्याङ पोखराका कलाकारहरुले लाइभ कन्सर्ट प्रस्तुत गरेका थियो ।
“जनप्रतिनिधि र युवाहरुको जोड आमुल परिवर्तनको निरन्तर खोज” भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अहिले पुरुष बास्केट बल प्रतियोगिता संचालन भैरहेको छ भने प्रौढ भलिबल प्रतियोगिता फाइनल चरणमा पुगेको छ । त्यस्तै पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता संचालन हुन बाँकी छ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ५५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, बास्केटबल प्रतियोगितामा प्रथमले नगद १ लाख ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, द्धितियले ५५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । महिला भलिबल प्रगियोगितामा प्रथमले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र, द्धितियले २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भने प्रौड भलिबल प्रतियोगितामा प्रथमले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र, द्धितियले २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जलजला-९, बनौंका वडा अध्यक्ष गौ बहादुर पुनको अध्यक्षता, वडा सचिव राम प्रसाद रिजालको शुभकामना मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण विश्वकर्माले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here