पर्वत-पर्वतको विहादी गाउँपालिका वडा नं. ६,चर्काङमा तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । पालिकाको उद्यम विकास शाखाको आयोजनामा उक्त तालिम आईतबार देखी सुरु भएको हो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा) अन्तर्गत सुरु भएको तालिममा वडा नं. ६ का ३० जना कृषकहरुको सहभागिता रहेको उद्यम विकास शाखाले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नागरिकलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकता दिने बताएका छन् । नागरिकलाई व्यवसायसँग आवद्ध हुने योजनाहरुलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गर्ने उनले बताए ।
आगामी बजेटहरुमा विकास निर्माणका कामसँगै उत्पादनमुखी कामहरुमा नागरिकलाई उत्प्रेरित गर्ने कार्यक्रमहरु ल्याइने जानकारी दिँदै अध्यक्ष गुरुङले समसामयिक समस्याहरुको समाधानको लागि जनप्रतिनिधिहरु दत्तचित्त भएर लागेको उल्लेख गरे । गुरुङले भने ‘हामीले उद्यम विकासका कार्यक्रमहरुमा विशेष जोड दिएर काम गरेका छौँ,उत्पादन हुने र भएका फसलहरुको बजारीकरणमा पनि पालिकाले समन्वय गरिरहेको छ ’। कृषि उत्पादनलाई प्राथमिकतामा राखेर हरेक वडामा चिस्यान केन्द्रहरुको स्थापना गर्न आवश्यक लागत तथा संभाव्यता अध्ययन गरी फाइल पेश गर्न वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् । ‘चिस्यान केन्द्र स्थापना गर्न सके कृषि उत्पादनको मूल्य पर्छ’ उनले भने–‘कृषि नै नागरिकको आत्मनिर्भर बन्ने माध्यम हो, यसको व्यवस्थापन र उत्पादन वृद्धिको लागि आवश्यक पहल पालिकाले गर्छ ।’ फुर्सदको समय सदुपयोग गरि सीप सिकेर स्वरोजगार बन्न आग्रह गर्दै स्थानिय सरकारले बीउ विजन,प्रविधि दिने र बजारीकरणको व्यवस्था गर्ने उनले बताए ।
नागरिकले उत्पादन गरेको कृषि उपजहरुलाई बजारसम्म पुर्याउन र बिक्री वितरणमा सहज होस् भन्ने उद्धेश्यले कृषि एम्बुलेन्स खरिद गर्न योजना बनाएकोमा पालिकाले सवारी खरिद गर्यो भन्ने अनर्गल प्रचार भएकोमा अध्यक्ष गुरुङले गुनासो व्यक्त गरे ।
गाउँपालिकाकी उपाध्याक्ष मिना शर्मा तिवारीले विकासका लागि युवा जनशक्तिलाई उत्पादनसँग जोड्नु पर्ने बताइन् ।बढ्दो युवा पलायनलाई रोक्न, बेरोजगारीको समस्या अन्त्य गर्न, बाँझो जग्गाको उपभोग गर्नुका साथै मुलुकको आर्थिक विकासका लागि युवालाई उत्पादनमुखी क्षेत्रसँग जोड्ने नीति निर्माण आजको आवश्यकता रहेको तिवारीको भनाई थियो ।
बैशाख ३१ गतेदेखि सुरु भएको तालिम जेष्ठ ६ गतेसम्म सञ्चालन हुनेछ ।